दमक, चैत ६
त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) ले बढी क्याम्पसमा जित हाँसिल गरेको छ ।
मत परिणाम अनुसार हालसम्म नेविसंघले ९९ कलेजको स्ववियु सभापति जितेको छ भनें नेकपा एमाले निकट अनेरास्ववियुले ८६ कलेजमा सभापति जितेको छ । कतिपय कलेजहरूमा नेविसंघको पुरै प्यानल नै निर्वाचित भएको छ ।
त्यस्तै तेस्रो नम्बरमा रहेको अखिल क्रान्तिकारीले ७३ कलेजको स्ववियु सभापति जितेको बताइएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न कलेजमा भएको निर्वाचनको मत परिणाम समेत आउने क्रम जारी छ । हालसम्म नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा सभापतिमा निर्वाचित बन्नु भएको छ । नेवि संघबाट थापाथली इन्जिनियरिङमा प्रल्हाद खड्का र महाराजगञ्ज नर्सिङ क्याम्पसमा विन्दु पोखरेल सभापतिमा निर्वाचित बन्नु भएको छ ।
उता, अखिल (क्रान्तिकारी) ले जनप्रशासन क्याम्पसमा अनिकेत तिवारी र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा नरेन्द्र ठगुन्नामार्फत सभापति पद प्राप्त गरेको छ । पुलचोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित बन्नु भयो ।
चैत ५ गते देशभरका ३८ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । त्यस्तै करिब ३०० को हाराहारीमा सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन भएको थियो ।
यता, झापाको बिर्तामोडका दुईवटै क्याम्पसमा नेवि संघले सभापति जितेको छ । गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेवि संघ र अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
जिल्लाका १३ वटा क्याम्पसमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ३३२ जना उम्मेद्वार चुनावी मैदानमा छन् भने १३ हजार ३१९ जना विद्यार्थीहरुले निर्वाचनमा भाग लिएका छन् ।
उता, पाँचथर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेवि संघसहितको संयुक्त गठबन्धन विजयी भएको छ ।










