पथरी, चैत ७
मोरङको पथरी शनिश्चरे ९ रिंगुवामा अवस्थित सिंहबाहिनी माद्यमिक विद्यालयको रङ्गरोगनका लागि सोही विद्यालयका भूतपूर्व विद्यार्थी सञ्जाल सदस्य ऋषि चम्लागाईंले १२० लिटर प्राइमर रङ्ग प्रदान गर्नुहुने भएको छ ।
सञ्जालको तर्फबाट विद्यालयको रङ्गरोगन कार्यको सहयोग जुटाउने काममा संयोजन गर्दै आउनु भएका मेइटु पेन्ट्स मोरङका सञ्चालक चम्लागाईंले पेट्सको समेत तर्फबाट १८ हजार बढी रुपैयाँ बराबरको प्राइमर उपलब्ध गराउने हुनु भएको हो ।
यसअघि यसअघि पथरी शनिश्चरे १० रिंगुवाका पूर्व विद्यार्थी युरो पेन्ट्समा कार्यरत चन्द्र कटुवालले १५ हजार रुपैयाँ बराबरको १ सय लिटर र पथरी शनिश्चरे ९ रिंगुवा घर भई हाल विदेशमा रहनु भएका पूर्व विद्यार्थी योगेन्द्र खत्रीले ७ हजार ५ सय रुपैयाँ बराबरको ६० लिटर रङ्ग निःशुल्क उपलब्ध गराउनु भएको थियो । यस्तै, हाल कोरियामा रहनु भएका पथरी शनिश्चरे ९ रिंगुवाका पूर्व विद्यार्थी डा. देवेन्द्र आचार्यले रङ्गरोगनकैलागि ५ हजार रुपैयाँ उपलब्ध गराउनु भएको चम्लागाईंले जनाउनु भयो । विद्यालयकालागि भोलि दिउँसो विद्यालयमा एक कार्यक्रमकाबीच प्राप्त रङ्ग हस्तान्तरण गरिने भएको छ ।
हरहिसाबले व्यवस्थित गर्दै गुणस्तरीय शिक्षामा जोड दिन त्यहाँका पूर्व विद्यार्थीहरुले सक्रियता देखाउँदै आएका छन् । यस क्रममा विद्यालय भवनको साजसज्जाका लागि रङ्गरोगनको कार्यमा सञ्जाल जुटेको हो । स्थापनाकालदेखि नै विद्यालय परिसरमा शुद्ध पिउनेपानीको समस्यालाई भूतपूर्व विद्यार्थीहरुले यस वर्ष समाधान गरेपछि विद्यालय भवनको साजसज्जामा ध्यान गएको छ ।
सञ्जालले विशेष गरी विद्यार्थीको पठनपाठनमा सघाउन अक्षयकोष निर्माणको योजना बनाएको सञ्जालका अध्यक्ष राजकुमार नाछिरिङ राईले बताउनु भयो । संस्थालाई नगरपालिका कार्यालयमा विधिवत दर्ता गर्न विधान निर्माणको काम अघि बढाइएको पनि उहाँले जनाउनु भयो ।









