उदयपुर, चैत ९
उदयपुरको गाईघाटमा अन्तर्राष्ट्रिय कविता दिवसको समेत अवसर पारेर सम्पन्न उदयपुर साहित्य कला प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवमा छ जना स्रष्टालाई सम्मानित गरिएको छ ।
नेपाली भाषा साहित्य कला गीत सङ्गीत तथा अभिनयका क्षेत्रमा लामो समयदेखि लागिरहनु स्रष्टाहरुलाई सम्मानपत्रले सम्मानित गरिएको पत्रकार एवम् साहित्यकार माधव पोखरेलले जनाउनु भएको छ ।
हास्य टेलिश्रृङ्खलाका कलाकार स्यालबुढा उर्फ धर्मराज भट्टराई,उदयपुरका पहिलो कथाकार शारदाप्रसाद भट्टराई, उदयपुरकै पहिलो महाकाव्यकार उद्धव घिमिरे, उदयपुरकी नारी हस्ताक्षर सम्झना असफल, उदयपुरका पुराना कवि (२०२३ सालमा कविता प्रकाशन गर्ने ) गोवर्धन तामाङ र मरणोपरान्त पुराना साहित्यकार शताब्दी पुरुष एवम् उदयपुर र खोटाङका इतिहास पुरुष तुलसीप्रसाद रेग्मीलाई सम्मानित गरिएको हो ।
उदयपुर साहित्य कला प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राध्यापक डाक्टर खेमराज खनालले साहित्य समाजको ऐना मात्र नभएर पथ प्रदर्शक पनि भएकोले समाजलाई समुन्नत बनाउन साहित्यकारको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
प्रमुख अतिथि खनालले स्रष्टाले इमान्दारिताको, अनुशासनको र समाजलाई अग्रगामी बाटोमा लैजाने झोला बोकेर हिड्नु आजको आवश्यकता रहेको चर्चा गर्नुभयो । प्रमुख अतिथि खनाल र विशिष्ट अतिथि शिक्षा समन्वय एकाईका प्रमुख भवानी प्रसाद कट्टेलले स्रष्टाहरुलाई सम्मानित गर्नुभएको थियो ।
कार्यक्रममा भवानी कट्टेल, उद्धव घिमिरे, वृषबहादुर तामाङ, शारदाप्रसाद भट्टराई, धर्मराज भट्टराई, राममणि पोखरेल, माधव पोेखरेल गोज्याङ्ग्रे, ज्वाला भट्टराई, सम्झना असफल, विष्णुबहादुर खड्का, कीर्तिबहादुर खड्का, शैलेन्द्र खतिवडा, कुमार कोइराला, खिलानाथ घिमिरे, सीमा मास्के, सुधा भट्टराई, सामना भट्टराई, गोपाल कीर्ति, गोठकृष्ण ठकुरी, रमेशचन्द्र ढुङ्गाना लगायतकाले शुभकामना मन्तव्य सहित रचना वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष डा कैलाशकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रियुुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडा, अध्यक्ष रमेशचन्द्र ढुङ्गाना र त्रियुगा सङ्गीत विद्यालयका प्रशिक्षार्थीहरुले साङ्गीतिक प्रस्तुति दिएका थिए ।









