इजरायल, चैत १०
लेबनानबाट थुप्रै रकेट प्रहार भएपछि इजरायलले लेबनानमा लगातार हवाई आक्रमण गर्दा भीषण युद्ध अघि बढेको छ ।
नोभेम्बर महिनामा भएको हिंसापछि लेबनान र इजरायलको बिचमा सबै भन्दा भीषण आक्रमण भएको छ । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहको नेतृत्व रहेको स्थानलाई लक्षित गर्दै आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आक्रमणमा एक बालकसहित सात जनाको ज्यान गएको र ४० जना बढी घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालययले जनाएको छ ।
पहिलो चरणको आक्रमण सकिएको एक घण्टापछि दोस्रो चरणको आक्रमण भएको इजरायलले जनाएको छ । सो आक्रमण कमान्ड सेन्टर, भौतिक संरचना र हतियार केन्द्रमा लक्षित थियो ।
लेबनानमा हिजुबल्लाह लगायत धेरै सैन्य समूह भए पनि इजरायलमाथि रकेट प्रहारको जिम्मेवारी कसैले पनि लिएका छैनन् । हिजबुल्लाहले लेबनानबाट भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको भन्दै आफू युद्ध विराममा अडिग रहेको जनाएको छ ।
तस्वीर : बीबीसी









