दमक, चैत १०
झापाको दमकमा संस्थागत विद्यालयहरुको प्रतिष्पर्धाको बीचमा कर्नरस्टोन फाउण्डेसन पनि एक हो । उसले पनि गुणस्तरीय सिकाईकालागि विद्यार्थीहरुका सृजनशीलता प्रष्फुटनमा अतिरिक्त क्रियाकलापमा पनि उसैगरी जोड दिँदै आफ्नो परिचय विस्तार गर्दै आएको छ ।
उसले स्थानीय मातृभूमि अतिथि सदनमा विद्यार्थीका सृजनात्मक क्रियाकलाप प्रस्तुतिमा केन्द्रित रहेर आफ्नो नवौं वार्षिकोत्सव शनिबार भव्य रुपमा सम्पन्न गरेको छ । जहाँ कक्षा प्ले ग्रुपका विद्यार्थीहरुले पनि नृत्य प्रस्तुत गरेर केही सिक्ने अभिलासा देखाए । प्ले ग्रुपदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेर अभिभावक तथा अतिथिहरुलाई प्रभाव पारे ।
विद्यार्थीहरुले सामुहिक गीत समेत प्रस्तुत गरे । अनि केहीले कविता वाचन गरेर साहित्यप्रतिको रुचीलाई बढाउन खोजेको देखिन्थ्यो ।
त्यतिमात्र होइन, आफ्नो परिचय दिँदै मोडलिङको र्याम्पमा उत्रिदाका तौरतरिका समेत सिकेर उनीहरुले त्यहाँ आफ्ना प्रस्तुति दिए । जसले कार्यक्रममा अर्को फरक सृजनशीलता थपेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालय संयोजक शुष्मा लिम्बू गजमेरले विद्यालयमा सबै पक्षको सहयोग आवश्यक रहने बताउनु भयो ।
विद्यार्थीहरुका प्रस्तुति हेरिसकेपछि कार्यक्रमका प्रमुख अतिथि दमक नगर शिक्षा समितिका संयोजक कुवरेप्रसाद भट्टराईले कर्नरस्टोनको सफलताको शुभकामना व्यक्त गर्दै यसले गरेको प्रगतिप्रति प्रशंसा गर्नुभयो । साथै उहाँले नगरका विद्यालयहरुको गुणस्तरीयताको विभाजनसहित संस्थागत विद्यालयको शुल्क निर्धारणका विषयमा नीति बनाएर व्यवस्थापन गर्ने योजनामा लागेको पनि जनाउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का कोशी प्रदेश बरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेलले अनौपचारिक शिक्षाको निरन्तरताका हिसावले निजी विद्यालयहरुले सिकाई अघि सारेको धारणा राख्नुभयो । छोटो समयमा कर्नर स्टोनले कितावी ज्ञानसहित मण्टेश्वरी विधिबाट प्रयोगात्मक शिक्षालाई जोड दिएर अभिभावकको मन जित्न सफल भएको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालयका संस्थापक प्रिन्सिपल युवराज गजमेरले विद्यार्थीहरुलाई संस्कार समेत सिकाएर प्रयोगात्मक सिकाईमा जोड दिएको विद्यालयको अवधारणा अघि सार्नुभयो । उहाँले आफ्ना नानीहरुले कति अंक ल्याए भन्ने कुरामा जोड दिनुभन्दा पनि व्यवहारिक कुरा कति सिके भन्नेमा जोड दिनु अवको आवश्यकता भएको गहन अभिव्यक्ति प्रस्तुत गर्नुभयो । संस्थापक प्रिन्सिपल गजमेरले विद्यार्थीको सिकाई सफल बन्न अभिभावक र शिक्षकहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहने प्रसंग अघि सार्दै बालबालिकालाई बेलैमा सुत्न दिने र बेलैमा उठाउने बानीको विकास आवश्यक रहेको चर्चा गर्नुभयो ।
.२०७१ सालमा दमक १ मा आधारभूत र मा ५ मन्टेश्वरी स्थापना भई दुईस्थानमा गरी कक्षा ७ सम्मको पठनपाठनमा ५५०.विद्यार्थी संख्या रहेको सो विद्यालयको वार्षिकोत्सवमा अभिभावकहरुले उत्साहपूर्वक आफ्नो सहभागिता जनाएका थिए । आफ्ना नानीबाबुको प्रगति हेर्न सहभाागि अभिभावकहरुमाझ विद्यालयले अभिभावकहरुलाई कितावीसँगै व्यवहारिक ज्ञान दिएर गुराँस फूलेसरी मन फूलाउने प्रयत्नमा लागि रहेको कुरा महिला शिक्षकको नृत्यले समेत सन्देश छरिरहेको भान हुन्थ्यो ।









