दमक, चैत ११
विश्वविद्यालयका प्रगतिशील प्राध्यापकहरूको साझा संगठन प्रगतिशील प्राध्यापक संगठनले संसदमा छलफल र निर्माणका क्रममा बनेको उच्च शिक्षासम्बन्धी नयाँ विधेयकमा राखिएका नयाँ व्यवस्था विषयक परिचर्चा कार्यक्रमको आयोजना गरेको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटी सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित कार्यक्रममा त्रि.वि. भौतिकशास्त्रका प्रा.डा.विनिल अर्यालको उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक : विश्लेषण शीर्षकको कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथि योगेश भट्टराईले नेकपा एमालेको पनि यस किसिमको विधेयकमा सहमति नरहेकाले यस विषयमा मन्त्रालय तथा संसद समितिमा छलफल गर्न गराउन हरदम तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै विश्वविद्यालयको गुणस्तर सुधार्न अब काम, अनुसन्धान र प्रकाशनमा प्राध्यापकलाई लैजान सरकारले काम गर्नुपर्ने पनि धारणा राख्नु भयो ।
प्रगतिशील प्राध्यापक सङ्गठनका उपमहासचिव तथा नीति संवाद विभागका प्रमुख डा.सुमन खरेलले कार्यक्रम सञ्चालनका क्रममा विश्वविद्यालय सञ्चालनको मोडेल कस्तो बनाउन सकिन्छ भन्ने मोडेललाई प्रगतिशील प्राध्यापक सङ्गठनले निर्माण गरेर सरकारलाई सिकाउने पनि विचार राख्नुभयो ।
कार्यपत्रमा टिप्पणी गर्दै प्रा.डा. प्रेमसागर चापागाईँ, प्रा.डा. भिमसेन देवकोटा, प्रा.डा. ध्रुव गौतम, प्रा.डा. महानन्द चालिसेलगायतका वक्ताले धारणा राख्नुभयो । उहाँहरुले नेपालको विश्वविद्यालयलाई विश्वस्तरको उचाइमा पुर्याउनका लागि स्वायत्त बनाउनुपर्नेमा पञ्चायती व्यवस्थाको भन्दा पनि कठोर, अग्रगामी भन्दा पनि पश्चगामी र विशुद्ध प्रशासनिक कर्मचारीतन्त्रको नियन्त्रणमा ल्याउन खोजिएकोमा विरोध गर्दै डिमेड युनिभर्सिटीको अवधारणा ल्याइएकोप्रति खुलेर आआफ्ना तर्कसहित विरोध गर्नुभयो ।
सो कार्यक्रममा नेपालका मुख्य तीन राजनीतिक पार्टीहरू क्रमशः नेकपा एमालेको शिक्षा विभागकी प्रमुख पार्वती अर्याल, नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महर तथा नेकपा माओवादीका शिक्षा विभाग प्रमुखसमेतको उपस्थिति तथा संगठनको आधिकारिक धारणासमेतका लागि विभिन्न संगठनका नेतृत्व तहकाको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य राख्दै संगठनका महासचिव डा. पदम खतिवडाले सरकारले ल्याउन आँटेको उच्च शिक्षा विधेयक बारे चेतावनी स्वरुप भन्नुभयो ‘सो विधेयकका बारेमा हामी सरोकारवालासँग छलफल गरेन भने, त्यो विधेयक लेख्ने कलम हामी सरोकारवालाका हातमा सुम्पेन वा जानकारी गराएन भने हामी सदैव शिक्षादेखि, दीक्षासम्म, कक्षादेखि ज्ञानसम्म विरोध गरिरहन्छौँ ।’ सरकारले सरोकारवालासँग छलफल नै नगरी विश्वविद्यालयका प्राज्ञिक गतिविधिको मानमर्दन गरिरहेको कुराको पनि विरोध गर्नुभयो ।
२०८० माघ १७ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सार्वजनिक गरिएको उच्च शिक्षासम्बन्ध्ी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक बारे छलफलका क्रममा सरोकारवालालाई चासो नै नदिइएको पनि सबैले विरोध गरे । टिप्पणीकर्ता प्रेमसागर चापागाईँले सरकारपिच्छे विश्वविद्यालय खोलिनुपर्ने प्रस्ट र वैज्ञानिक आधार नबनाई, अनुसन्धान नै नगरी सरकारले खोलेका १९ वटा विश्वविद्यालयको स्तर निर्धारण नगरिएकाले पनि यस्ता बग्रेल्ती विधेयकहरू आइरहेको शङ्का व्यक्त गर्नुभयो ।
त्यसैगरी भिमशेन देवकोटाले अहिलेको उच्च शिक्षा विधेयक नियन्त्रणमुखी, कर्मचारीतन्त्रमुखी भएको त्यस किसिमको प्रणालीले विश्वविद्यालयको संरचना नै ध्वस्त हुनेमा आशङ्का व्यक्त गर्नुभयो । साथमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुव गौतमले प्राध्यापक तथा सरोकारवालासँग छलपल नगरी, अनुसन्धान नगरी नेपालमा सोचिएको डिमेड युनिभर्सिटीको कुनै पनि सम्भावना नभएको बताउनु भयो । उहाँले त्यसमा थप्दै भन्नुभयो “यदि यस्तै तरिकाले कर्मचारीतन्त्रमुखी विधेयक सरकारले ल्याउँछ भने अब विश्वविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी चुप लागेर बस्ने छैनन् ।’
कार्यपत्र प्रस्तुतिका क्रममा प्रा.डा. विनिल अर्यालले बन्दै गरेको उच्च शिक्षा विधेयकका सबल र दुर्बल पक्ष भनी छुट्याउनु भएको थियो । सबल पक्षका रूपमा उहाँले सम्बन्धित ऐनलाई संशोधन गर्ने कार्य, सेवा आयोगको व्यवस्था एकीकृत भएको, विश्वविद्यालयको वर्गीकरण गरिएको, उच्च शिक्षाका उद्देश्य, पदाधिकारी नियुक्तिको व्यवस्था जस्ता विषयलाई प्रस्तुत गर्नुभयो भने दुर्बल पक्षका रूपमा १० वटा सवाल उठाउनु भयो ।
विश्वविद्यालयको स्वायत्तता, उच्च शिक्षाको राष्ट्रिय मापदण्ड अपूर्ण, विश्वविद्यालय स्थापनाको नीतिगत सवाल, डिमेड युनिभर्सिटीको स्थापनाको सोंच, उच्च शिक्षा आयोगको अवधारणा, प्राज्ञिक पदको अन्यौलता, शैक्षिक उपाधि स्थापना, पदाधिकारी नियुक्तिमा आयोगको नियन्त्रण, संयुक्त राष्ट्र संघको व्यवस्थाप्रति बेवास्ता, विश्वविद्यालयको पुरानै सङ्गठन वा ढाँचा जस्ता कुरामा पश्चगामी शैली अपनाइएको विषयलाई प्रस्ट पार्नुभयो ।
विधेयकको ड्राफ्टलाई सरसर्ती हेर्दा नेपालमा डिमेड युनिभर्सिटीका र उच्च शिक्षा आयोगले शिक्षाको स्वायत्ततालाई नकारात्मक पार्ने देखिन्छ । त्यो भारतमा पनि असफल प्रायः भइसकेको अवस्थाका बारेमा उल्लेख छ । यस्तो अवधारणा ल्याउनुमा कतै न कतै सामुदायिक विश्वविद्यालयका नाममा व्यापारीका पोल्टामा विश्वविद्यालय पनि राख्न खोजिएको त हैन भन्ने आशङ्का उस्तै देखिएको टिप्पणी छ ।










