दमक, चैत १४ / हरेक वर्ष मार्च २७ मा पर्ने विश्व रंगमञ्च दिवस आज परेको छ । मञ्च अर्थात् प्रदर्शन या सम्बोधन गरिने ठाँउ । मञ्चमा धेरै कुराहरु मञ्चन हुन्छन् र यी धेरै कुराहरु धेरैजसो समाज अनि परिवर्तनका विषयमा हुने गर्दछन् ।
मार्च २७ को यो चलन सन् १९६१ बाट सुरु भएको हो । युनेस्कोले मार्च २७ लाई रंगमञ्च दिवस मनाउने घोषणा सन् १९४८ मा नै गरेको हो र सन् १९६१ बाट दिवस मनाउन प्रारम्भ भयो । विश्व रंगमञ्च दिवसको संस्थागत अनुगमन र आयोजना भने फ्रान्सको पेरिसस्थित इन्टरनेशनल थीएटर इन्सटीट्युटले गर्दछ । सामान्यतया यस दिवसको आयोजना फ्रान्सको पेरिसकै थीएटर हलमा गरिन्छ तर कहिलेकाँही आवश्यकता अनुरुप ठाउँ परिवर्तन पनि गरिएको इतिहास छ । यसरी कार्यक्रममा ५ वटा मुख्य सन्देशहरु भेला पारिएका हुन्छन् जुन एसिया, अरब क्षेत्र, युरोप, अफ्रिका र अमेरिकाका प्रतिनिधि लेखक या कलाकारका सन्देश हुन्छन् । यिनै सन्देशहरु साथ ५ वटा द्वीप प्रज्जवलन गरेर औपचारिक कार्यक्रम सुरुवात गरिन्छ ।
यस दिवसमा गाउँदेखि सहर अनि विदेशसम्म विभिन्न कार्यक्रम आयोजना गरेर समाजका विभिन्न अवयवहरुलाई मञ्चन गर्दै विश्व रंगमञ्च दिवस मनाउने गरिन्छ । यस दिवसका अवसरमा नेपालका रंगकर्मीहरुले शुभकामना व्यक्त गरेका छन् । यस दिवसका अवसरमा नेपालका रंगकर्मीले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
मुख्यतया विश्वभरका कलालाई प्रवर्धन गर्न, कलाको महत्व विश्वमा थप बढाउन र नृत्य अनि अभिनय लगायतका कलाका विधालाई थप विस्तार एवम् व्यवस्थित गरी विश्वभर महत्व दिलाउन यस दिवसको आयोजना गरिन्छ ।
कसैले जीवनलाई रंगमञ्च मान्दछन् त कतिले जिन्दगीलाई नाटक, जे जसो भएपनि अभिनय, रंग, संगित, कला, संवाद अनि साधनाले रंगमञ्चलाई मानवसंग अत्यन्त निकट मानेका छन् । रामलीला मञ्चनदेखि विभिन्न विदेशी र स्वदेशी नाटकसम्म, श्यामस्वेत चलचित्रदेखि थ्रीडीसम्म रंगमञ्चले यात्रा तय गरेको छ । अहिले त नेपालमा पनि विभिन्न थीएटर अनि कलाकर्मीहरुको प्रयास अघि बढिरहेको छ । नेपाली रंगकर्मीहरुले चलचित्रमा प्रवेश गरेर चलचित्रको विविधता बढाउँदै प्रभावकारी कथा भन्न थालेका छन् ।









