अमेरिका, चैत १४ / अमेरिकामा रहेर काम गर्दै आउनु भएका नेपालीभाषी भूटानी पत्रकार अर्जुन प्रधानले हालै नियुक्त अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई खुला पत्र लेख्दै अमेरिकामा रहेका नेपाली समुदायका चुनौतीहरूबारे ध्यानाकर्षण गराउनु भएको छ ।
पत्रमा प्रधानले नेपाल अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै अमेरिकामा रहेका नेपाली समुदायका चुनौतीहरूबारे राजदूतको ध्यानाकर्षण गराउँदै भुटानबाट पुनर्स्थापितहरुको सवालका कुरा उठाउनु भएको छ । विशेष रूपमा, पुनःस्थापित भूटानी नेपाली समुदायको अस्तित्व, पहिचान, र अधिकारका विषयमा सुरक्षित बहस आवश्यक रहेको प्रधानले औंल्याउनु भएको छ ।
पत्रमा उज्यालो खबरका अमेरिका प्रतिनिधि समेत रहनु भएका प्रधानले नेपाली समुदायको कानुनी, सामाजिक, र सांस्कृतिक संरक्षणका लागि दूतावासको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो । साथै, अमेरिकी सरकार तथा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै भूटानी नेपालीहरूका मुद्दा प्रभावकारी रूपमा उठाउन राजदूत रेग्मीसँग आग्रह गर्नुभयो ।
नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउन तथा नेपाली प्रवासी समुदायको हकहित सुरक्षित गर्न राजदूत रेग्मीले नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा प्रधानले व्यक्त गर्नुभयो । पत्रमार्फत उहाँले राजदूत रेग्मीलाई अमेरिका आगमनमा स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।









