पथरी, चैत २० / पथरी शनिश्चरे नगरमा संचालन भइरहेको प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज वडा नम्बर ४ र ९ बीच खेल हुने भएको छ ।
मंगलबारको खेलमा वडा नम्बर ८ ले ७ लाई ‘सडेन डेथ’मा पराजित गरेको थियो । सो खेलमा वडा नम्बर ८ ले ट्राइबेकर पछि ‘सडेन डेथ’मा ७ लाई पराजित गर्न पुग्यो । सो खेलको ‘म्यान अफ दी म्याच’ खेलाडी प्रिन्स लिम्बु घोषित हुनुभयो । लिम्बुलाई १ नम्बर वडाध्यक्ष भीमकुमार राईले मेडल तथा ट्रफीले पुरस्कृत गर्नुभयो ।
वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा सम्पन्न सो खेलमा नगर प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष नवीन कार्की, वडा नम्बर १० का जीवन खतिवडा, ७ का अध्यक्ष उद्धवराज बस्नेत, ४ का अध्यक्ष लोक किरण न्यौपाने, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, राप्रपा नेपालका नगर अध्यक्ष हरिन्द्रमान खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष खड्क बहादुर श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
गत आइतबारदेखि वडा नम्बर १ ले जाँते रोडस्थित खेलमैदानमा सञ्चालित प्रतियोगिता उत्कृष्ट, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक रूपमा सञ्चालन भइरहेको छ ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उद्घाटन गर्नुभएको सो प्रतियोगिता चैत २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नगरका १० वटै वडा फुटबल टिमहरूले भाग लिएका छन् ।









