दमक, २३ चैत / लिम्बु जाति भित्रको याक्थुम समुदाय लक्षित याक्थुङ फक्ताङलुङ आइडल, सिजन–३ को शनिबार (आज) दमकमा फिनाले हुँदैछ ।
अनलाइनमार्फत देश तथा विदेशबाट समेत गरि अडिसन गरेर छनौटमा परेका टप टेनबीच प्रतिस्पर्धा गराएर उत्कृष्ट प्रतिभा घोषणा गरिँदै छ ।
शनिबार प्रतियोगिताको फाइनल प्रस्तुति देखाएर विजेता छान्ने शुक्रबार आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।
‘याक्थुङ साम्लो साम्लोरिरो साम्लोई लोई लाम्लोरिरो’ भन्ने नारा सहित याक्थुङ लिम्बु कलाकारको खोजी गर्न यो प्रतियोगिता आयोजना गरिएको आयोजक फक्ताङलङ साँस्कृतिक मञ्च केन्द्रीय कार्य समितिका अध्यक्ष पूर्णकुमार शेर्माले जानकारी दिनुभयो ।
प्रतियोगिताका विजेताहरुले नगद ५ लाख, २ लाख, १ लाख २५ हजार र ६० हजारसम्मका नगद पुरस्कार पाउने छन् । साथै बिभिन्न म्यूजिक भिडियो निर्माण, देश विदेशमा हुने साङ्गीतिक कार्यक्रमहरुमा समेत सहभागिता गराइने उहाँले जानकारी गराउनु भयो ।
प्रतियोगितामा देश विदेशबाट गरि ८० जनाले अनलाइन अडिसन दिएका थिए । त्यहि मध्येबाट छनौटमा परेका उत्कृष्ट १० जनालाई लिम्बु जातीको याक्थुङ साम्लो बारेमा प्रशिक्षण समेत दिएर प्रतियोगितामा सहभागी गराइएको बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै ८० लाख खर्च हुने र सबै खर्च विदेशमा रहने सुभचिन्तक र केही स्थानीय सरकारको समेत सहयोग रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।









