दमक, २८,चैत / सबै घर खरले छाइएको छ । काँस र बाँसको भाटाले बेरिएको छ । सबैको बाहिरी स्वरुप करिब उस्तै छ । तर यसको भित्री र अन्य भागको सजीसजावट फरक फरक छ ।
घरको अगाडिपट्टि नीलो, सेतोे, रातो, हरियो र पहेलो रङ्गको झण्डाको फरक फरक तोरण टाँगेका छन् । कसैले अगाडिपट्टिको भागमा सेतोले पोतेका छन् र पहेलो रङ्गको तोरण टाँगेका छन् । केहीले आफ्नो जातीयता झल्कने बिभिन्न औजार तथा सामग्री राखेका छन् । कसैले पोसाकको प्रर्दशन गरेका छन् । हेर्दा आकर्षक छन् । तर यी घरहरु बस्न चाँही बनाइएको होइन । अस्थायी घर हुन् । अर्थात मौलिकपन देखाउनका लागि मात्रै निर्माण गरिएका घरहरु हुन् । यो ठाउँ हो दमकस्थित सयपत्री टोल । जहाँ लागिरहेको आदिवासी जनजाति महोत्सव ।
दमकमा रहेका १५ जातिका फरक फरक पहिचान सहितका घरहरु बनाएर यहाँ प्रर्दशन गरिएको आदिवासी जनजाति महासंघ दमक समन्वय समितिका अध्यक्ष अम्बरबहादुर कुमालले बताउनु भयो ।
दमकमा बसाबास गर्ने अधिकांश आदिवासी जनजातिहरुको वास्तविक घर अहिले चाँही यस्ता हुन छाडेका छन् । समयको परिवर्तनसँगै आवश्यकता अनुसारका घरहरु बनेका छन् । तर यहाँ हुर्केका नयाँ पुस्ताहरुको पुरानो घर चाँही यस्तो थियो है भनेर अहिलेको नयाँ पिँडीलाई देखाउन र बुझाउन पनि यी खाले घरहरु बनाएर प्रर्दशन गरिएको राष्ट्रिय जनजाति महिला महासंघकी अध्यक्ष मीना गुरुङले जानकारी दिनुभयो ।
यी घरहरु निर्माण गर्न खासमा केही पनि आयातित सामग्रीको प्रयोग भएको छैन । आफ्नै खोला खोल्सीका काँस, बाँस र खरहरुको प्रयोग भएका छन् । स्थानीय स्तरमा जे जे सामग्री प्राप्त भयो त्यसलाई प्रयोग गरेर यी खाले घरहरु निर्माण गरिएको धिमाल जातीय विकास केन्द्रका पूर्व अध्यक्ष रामबहादुर धिमालल बताउनु हुन्छ ।
यो महोत्सव दैनिक १० हजार हाराहारीका दर्शकले अवलोकन गर्ने गरेको उल्लेख छ । दिनको समयमा जातीय सांस्कृतिक कार्यक्रमहरु हुने गर्छन् भने साँझको समयमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने गर्दछ । महोत्सवमा आउने जोसुकैले पनि यी नमुना घरहरु हेर्ने र यस सम्बन्धी चासो राख्ने गरेको पाइएको छ ।









