दमक, ६ बैशाख / आफूले सानै उमेरबाट भोग्दै आएका विषम परिस्थिति । त्यस्ता परिस्थितिमाझ अलि भावुक स्वभावका मनबहादुर लिम्बूबाट मनका भाव कविता भएर पोखिदा पोखिदै उहाँलाई साहित्यमा ‘अभागी थेगुवा’को नामले चिनारी दियो ।
वि.सं. २०३० पुस १० गते तेह्रथुमको उम्फुवामा जन्मिनु भएका थेगुवा लामो समय झापाको तात्कालिन तोपगाछीको केरखाबाट हाल अर्जुधारा ११ मा बसोबास गर्दै पेशाले शिक्षण कर्ममा तल्लिन हुनुहुन्छ । आफूभित्रको सृजनशीलतालाई विद्यार्थीहरुमाझ समेत प्रस्तुत गर्दै ०५५ सालबाट शिक्षक भएर थाल्नु भएको चेतना कर्म पछिल्लो १० वर्षयता अर्जुनधारा ११ को महारानीगञ्ज माध्यमिक विद्यालयको प्रधानाध्यापकका रुपमा नेतृत्वदायी भूमिकामा उभिएको छ ।
०४७ सालताका साहित्य लेखनमा प्रवेश गर्नुभएका उहाँ विशेषगरी कविता र गजल लेख्न रुचाउनु हुन्छ । कवितामा पनि गणित र विज्ञान विषयलाई समावेश गरी फरक प्रस्तुतिमा कविता लेख्ने उहाँको चिनारी छ । उहाँको पहिलो संयुक्त र ऐतिहासिक कृति गजल संग्रह ‘शप्तकोशीको किनारबाट’ २०५४ सालमा प्रकाशित भयो । ०५७ मा कविता संग्रह ‘बुद्धले अस्त्र’ अनि ०६७ मा ‘हर्के, म अनि युद्ध’ नामक गजल काव्य नै तयार गर्नुभयो । उहाँको पछिल्लो कृति कविता संग्रह ‘सपनाहरूको बही’ २०८१ सालमा प्रकाशित छ ।
०५४ मा धरानबाट प्रकाशित साहित्यिक त्रैमासिक पत्रिका गुम्बज, ०५६ मा त्रिवेणी साहित्यिक मासिक पत्रिका झापा, नवरङ्ग साहित्यिक र समसामयिक अंक १/२ को २०५७ /०५९ मा सम्पादन गर्नुभएको छ ।
दमकस्थित चन्द्रसूर्य सीप विकास संस्था, झिल्लिका साहित्यिक संस्था, साहित्य कला संगम, साहित्य चौतारी बिर्तामोड, नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षी, ज्येष्ठ नागरिक प्रतिष्ठान अर्जुनधारा, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन, किराँत याक्थुङ चुम्लुङ, इटहरी, याक्थुङ लेखक संघसहितबाट उहाँ सम्मानित भइसक्नु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रमको २७ औं श्रृंखलामा साहित्य र जीवनसंग सम्बन्धित भलाकुसारी र सृजना प्रस्तुतिको यो भिडियो ।









