लेख

शान्ति, अनुशासन र समाजसेवाको सन्देश बोकेको शैक्षिक आन्दोलन

शिक्षक–कर्मचारीहरूको आत्मसम्मानसहितको नयाँ, अग्रगामी र समावेशी शिक्षा ऐन जारी गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ ।

नेपालको इतिहासमा जब– जब ठूलो राजनीतिक परिवर्तन आएको छ, तब– तब आन्दोलनहरू र क्रान्तिहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्। २००७ सालमा नेपाली काँग्रेसले राणा शासन फाल्दा होस्, २०२८ सालमा नेकपा एमालेले पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा होस् वा २०५२ सालमा माओवादीद्वारा एकतान्त्रीय राजतन्त्रविरुद्ध जनयुद्ध छेडिँदा—प्रायः सबै सशस्त्र आन्दोलन थिए । यी आन्दोलनमा कतिले ज्यान गुमाए, कति घाइते भए, सयौं शहीद र वेपत्ता र अनाथ भए ।

तर, नेपाल शिक्षक महासंघद्वारा २०८१ साल चैत २० गतेदेखि सुरु गरिएको शैक्षिक आन्दोलन फरक छ। यो आन्दोलन अहिले २४औँ दिनमा प्रवेश गरिसकेको छ र अझै पनि शान्त, सभ्य, अनुशासित र समाजसेवाको सन्देश दिँदै अगाडि बढिरहेको छ। सम्मानित सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूको जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न र तीन दिनभित्र विद्यालय फर्काउने वातावरण सिर्जना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ।
विश्वमै केही यस्ता शान्तिपूर्ण आन्दोलनहरू छन्, जसले गहिरो प्रभाव छोडेर युगान्तकारी परिवर्तन ल्याएका छन् ।

१. महात्मा गान्धीको नेतृत्वमा भारतको स्वतन्त्रता आन्दोलन (१९१५–१९४७)ः सत्याग्रह, असहयोग र अहिंसामा आधारित यस आन्दोलनले भारतलाई बेलायती साम्राज्यबाट स्वतन्त्र गरायो ।
२. मार्टिन लुथर किङ जुनियरको नागरिक अधिकार आन्दोलन (१९५०क–१९६०क)ः जातीय विभेदको अन्त्य र अफ्रिकन–अमेरिकी नागरिक अधिकारको सुनिश्चिततामा यो आन्दोलनले ऐतिहासिक सफलता प्राप्त गर्‍यो ।
३. नेल्सन मण्डेलाको अहिंसात्मक सङ्घर्ष (१९५०क–१९९४)ः रंगभेदविरुद्धको दीर्घकालीन संघर्षले दक्षिण अफ्रिकामा लोकतन्त्रको पुनःस्थापना गर्‍यो ।
४. पोल्याण्डको “सोलिडारिटी” आन्दोलन (१९८०क)ः कम्युनिस्ट शासनको पतन र लोकतान्त्रिक व्यवस्थाको स्थापनामा यो आन्दोलन निर्णायक बन्यो ।

आज नेपालमा भइरहेको शैक्षिक आन्दोलनले पनि अहिंसात्मक संघर्षको यही गौरवशाली परम्परालाई पछ्याएको छ। सुरक्षाकर्मीलाई न त टियर ग्यास प्रयोग गर्नुपरेको छ, न लाठी चार्ज गर्न।आन्दोलनकारीले न ढुंगा–मुढा चलाइएका छन् ,न अशिष्ट नाराबाजी । नत टायर जलाएर सडकमा धुवाँ र दुर्गन्ध फैलाइएको छन् ।

बरु, आन्दोलनको स्वरूप नै फरक देखिन्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका भाषा, कला, संस्कृति र साहित्यको अनुपम प्रदर्शन हुँदैछ। आन्दोलन स्थल माईतिघर मण्डलादेखि बानेश्वरसम्मको सडक अहिले कला प्रदर्शनीको केन्द्रजस्तै देखिन्छ ।
कहिले रक्तदान कार्यक्रम, कहिले सरसफाइ अभियान—शिक्षकहरू आन्दोलनको माध्यमबाट सामाजिक सेवामा समेत सक्रिय छन् । पिउने पानी बाँड्ने संस्थाहरू छन्, सडक छेउमा व्यवसाय गर्ने दिदीबहिनीहरू ढुक्कले व्यापार गरिरहेका छन् । स्थानीय होटल र पसलहरूमा आन्तरिक पर्यटनको जस्तो चहलपहल देखिन्छ ।

‘टुकी’को उपमा पाएका शिक्षकहरू अहिले राजधानीमा नयाँ शिक्षा ऐनको माग गर्दै उपस्थित छन्—शिक्षा सुधार र राष्ट्रिय समृद्धिका लागि ।
राजधानी शिक्षित जनशक्तिले भरिएको छ । यस्तो आन्दोलन उपेक्षित भयो भने, यही शान्त आन्दोलनको शक्तिले प्रतिगामी शक्तिलाई विस्थापित गर्न सक्ने सम्भावना प्रवल देखिन्छ। नयाँ युगको बीजारोपण पनि यही आन्दोलनले गर्न सक्छ ।

अन्त्यमा,
“एक जुगमा एक दिन एकचोटि आउँछ !
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ !!“
भनेका वरिष्ठ कवि गोपाल प्रसाद रिमालका शब्दहरू यस घडीमा अत्यन्त सान्दर्भिक लाग्छन् ।

अतः, शान्तिपूर्ण, अनुशासित र दूरदर्शी ढङ्गमा अघि बढिरहेको यस ऐतिहासिक शैक्षिक आन्दोलनको मर्म बुझ्दै शिक्षक–कर्मचारीहरूको आत्मसम्मानसहितको नयाँ, अग्रगामी र समावेशी शिक्षा ऐन जारी गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ ।

(लेखक थापा नेपाल प्राध्यापक संघका सचिव/ प्रवक्ता हुनुहुन्छ ।)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच