विर्तामोड, १५ वैशाख । अहिलेसम्म काठमाडौंमा मात्र सीमित रहेको शिक्षक आन्दोलनको राप झापासम्म पनि आइपुगेको छ ।
नेपाल शिक्षक महासंघले २७ दिनअघि सुरु गरेको काठमाडौं केन्द्रित आन्दोलनका क्रममा आइतवार प्रहरीले दमन गरेको भन्दै झापामा रहेका शिक्षकहरुले यतैबाट आन्दोलन चर्काउन थालेका हुन् । यस क्रममा आज शिक्षक महासंघ विर्तामोड नगर समितिले ‘प्रहरी दमन’ को विरोधस्वरुप विर्तामोडमा प्रदर्शन गरेको हो ।
विर्तामोडको पश्चिम बसपार्कमा भेला भएका शिक्षकहरु विभिन्न नारा लगाउँदै विर्तामोड वजार परिक्रमा गरी मुक्तिचोकमा कोणसभा गरे ।
प्रदर्शनमा सहभागीहरुले शिक्षक कुट्न पाइँदैन, प्रहरी दमन–मुर्दावाद, नयाँ शिक्षा ऐन–लागू गर जस्ता नारा लगाएका थिए ।
कोणसभाका वक्ताहरुले शिक्षक आन्दोलन दबाउन सरकारले घुसपैठ गरेको आरोप लगाउँदै दमनको भरमा आन्दोलन नरोकिने चेतावनी दिए ।









