दमक, १९ बैशाख / नेपाल लाइब्रेरी फाउण्डेशन झापाले शुक्रबार दमकमा एक कार्यक्रम आयोजना गरी रचना वाचन तथा कृति परिचर्चा सम्पन्न गरेको छ ।
गृह पुस्तकालय अभियान अन्तर्गतको सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गोपालप्रसाद भण्डारीले दमकमा साहित्यिक गतिविधिसँगै पठन संस्कृतिका लागि थालिएको गृह पुस्तकालय कार्यक्रमलाई प्रभावकारी बनाएर लानुपर्नेमा जोड दिनु भयो ।
सो अवसरमा साहित्यकारहरु विन्दु दाहाल मुकदर्शक, विवेक क्षेत्री दुलाल, घनश्याम पथिक, कृष्ण उदासी, उज्यालो खबरका सम्पादक सर्जक भूपेन्द्रराज तिम्सिनालगायतले रचना वाचन गर्नुभएको थियो ।
फाउण्डेशन जिल्ला अध्यक्ष डा. लेखनाथ न्यौपानेको अध्यक्षताको कार्यक्रममा न्यौपानेकै कविता कृति ‘मेरो देश’को परिचर्चा गरिएको थियो । सो सन्दर्भमा साहित्यकार गोपालप्रसाद दाहाल र रामप्रसाद उपाध्यायले कृतिमाथि संक्षिप्त समीक्षा प्रस्तुत गर्दै कृतिले नेपालको समग्रता समेटेको उल्लेख गर्नुभयो । साथै उहाँले कृतिकार न्यौपानेको व्यक्तित्वमाथि समेत प्रष्ट्याउनु भयो ।
कार्यक्रममा साहित्यकार झाँक्रीखोले विष्णु न्यौपानेको जीवनी कृति ‘किनाराको एक्लो मान्छे’ र बासु काफ्लेले शिव खेडाको पुस्तकमाथि चर्चा गर्नुभयो ।









