दमक, २३ बैशाख । एउटा संस्थागत विद्यालयले सामुदायिक विद्यालयको जमिन खाली नगरेको विषयलाई लिएर मंगलबार दमक नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।
दमक ९ स्थित सरस्वती माद्यमिक विद्यालयको वडा नम्बर ८ को किरात चोक दक्षिणमा रहेको जग्गाबाट ‘गड मदर एकेडेमी टेक्नोलोजी विद्यालय’ लाई नगरपालिका कार्यालयले हटाउन नसकेको भन्दै तालाबन्दी गरिएको हो । सरस्वती मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरी गगनको अगुवाईमा विद्यालयले नगरपालिका कार्यालय भवनको ३ ठाउँको द्वारमा तालाबन्दी गरेपछि सेवाग्राहीको काम पूर्णरुपमा असरग्रस्त बनेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष पुरीले नगरपालिका कार्यालयमा ७ दिनको समय दिएको भएपनि २० दिन वितिसक्दा पनि जग्गा खाली गराउन नगरपालिका सक्षम नभएको भन्दै तालाबन्दी गर्नुपरेको कारण उल्लेख गर्नुभयो । विद्यालयको सम्पूर्ण जमिन नगरपालिका मातहत रहेकोले नगरपालिकामा आएर ज्ञापन पत्र बुझाउदै तालाबन्दीमा समेत पुग्न वाद्य भएको जनाउनु भयो ।
उता दमक नगर प्रमुख रामकुमार थापाले नगरपालिकाले दिएको निर्देशन गडमदरले नमानेको अवस्थामा भएको तालाबन्दीले अब ठोस निकास निकाल्ने जवाफ दिनु भएको छ ।
सरस्वती माविले आफ्नो जमिनमा ५ वर्षका लागि मात्र सञ्चालन गर्न दिएको भएपनि गड मदरले १३ वर्ष वितिसक्दा पनि जग्गा खाली गरेन । जग्गा खाली गराउन विद्यालय व्यवस्थापन समितिले ज्ञापनपत्र दिएपछि सोही दिन बैशाख ३ गते नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो ।
नगर प्रमुख रामकुमार थापाले एक प्रेस विज्ञप्ति जारी गरी अवको शैक्षिक शत्रमा नयाँ भर्ना नलिइ जग्गा खाली गर्न निर्देशनात्मक जानकारी गराउनु भएको थियो । सो सम्बन्धमा दमक नगर कार्यपालिकाको ०८१ भदौ ७ गतेको निर्णय भएको र अटेर गरिरहेको अवस्थामा गत चैत २६ गते गडमदरलाई विद्यालय खाली गर्न पत्राचार गरिएको विज्ञप्तिमा जनाइएको छ ।
जमिन खाली गराउन दमक नगरपालिकाको ध्यानाकषर्ण गराइएको ज्ञापनपत्रमा सात दिन भित्रमा सो गडमदर एकेडेमीले ठाउँ खाली नगरे दमक नगरपालिकाको मुल गेटमै ताला लगाएर आन्दोलन गर्ने चेतावनी दिइएको थियो ।
२०६८ सालमा सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बस्नेत र प्रधानाध्यापक दिलीप श्रेष्ठको पालामा तात्कालिन दमक १३ निवासी भोला ओझालाई त्यहाँ बाल कक्षासम्मको निजी विद्यालय सञ्चालन गर्न र संरचना बनाउँदा अस्थाई बनाउने सर्त सहित सम्झौता गरिएको थियो ।
५ वर्षको सम्झौता अवधि राखिएकोमा अहिले १३ वर्ष बितिसक्यो । यो बिचमा गड मदरले सम्झौता थप गर्ने प्रस्ताव गरेपनि सरस्वती माविले सम्झौता नथप्ने र त्यो ठाउँ खाली गर्न भन्दै लिखित तथा मौखिक जवाफ दिइनै रह्यो । यो क्रम अझैपनि चलिरहेको छ । ५ वर्षे सम्झौतामा प्रति कट्ठा एक हजार ५० रुपैँया रकम लिने भन्दै गड मदरलाई ५ कट्ठा जमिन प्रयोग गर्न दिने उल्लेख भएको देखिन्छ । तर सो सम्झौताको अवधि सकिएकै ८ वर्ष बितिसकेकोले त्यहाँदेखि यता न भाडा प्राप्त भएको छ न जग्गा नै । त्यो बेला सम्झौता गरिएका गड मदरका सञ्चालक ओझाको निधन भइसकेको छ ।
विद्यालय र दमक नगरपालिका समेतले ठाउँ खाली गराउन पत्राचार गर्दा पनि जरा गाडेर बसेको यो विद्यालय अहिले पनि टसमस भएको छैन । सरकारी निकायबाटै ठाउँ खाली गर्न भन्दै पत्राचार हुँदा समेत ठाउँ खाली नगराउनुलाई विद्यालयका सञ्चालकले सरकारलाईनै ‘लु उठाएर त देखा त’ भन्ने भाष्य सहित चुनौति दिएको बुझ्न कुनै अप्ठ्यारो छैन ।
गड मदरले प्रत्येक वर्षजसो अबको शैक्षिकशत्र सकिएपछि छोड्ने भन्दै प्रत्येक वर्ष टार्दै आएको छ । पछिल्लो पटक पनि चालु शैशिक सत्र यहाँ सुरु नगर्ने भनेर प्रतिवद्धता जनाएको थियो । तर यो शैक्षिकसत्र समेत निस्फिक्रि सञ्चालन गरेपछि यसका सञ्चालक सागर सुब्बालाई कुनै न कुनै राजनीतिक संरक्षण छ भन्ने कुराको आधार बलियो बन्दै गएको विश्लेषण गरिएको छ ।
सरस्वती माविको विद्यालय व्यवस्थापन समितिले चालु शैक्षिक सत्र सुरु नगरी समयमै गड मदरलाई अन्यत्रै स्थानान्तरण गर्न सूचित गर्दै त्यसो नभएमा डोजर लगाएर त्यहाँ निर्मित संरचना हटाउने चेतावनी सहितको सार्वजनिक सूचना नै प्रकाशन गरेको थियो ।










