दमक, २३ बैशाख / कोशी प्रदेशमा अघिल्लो वर्षभन्दा मुद्धा दर्ताको संख्या बढेको छ । पछिल्लो १ वर्षको अवधिमा करिब साढे ९ हजार मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
१४ जिल्ला रहेको कोशीमा २०८१ वैशाखदेखि चैतसम्म ९ हजार ४ सय ६१ मुद्दा दर्ता भएका हुन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ३ सय ३५ ले बढी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । २०८० को वैशाखदेखि चैतसम्म ९ हजार १ सय २६ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।
२०८१ को वैशाखमा ८ सय ४१, जेठमा ९ सय ६२, असारमा ९ सय ६७, साउनमा ९ सय ६२, भदौमा ८ सय १७, असोजमा ६ सय १८, कात्तिकमा ८ सय ४६, मंसिरमा ७ सय २५, पुसमा ६ सय ३०, माघमा ६ सय ८३, फागुनमा ६ सय ६५ र चैतमा ७ सय ७२ मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो १ वर्षको अवधिमा आत्महत्याका १ हजार २ सय ३, बैंकिङ कसुरका १ हजार ८९, लागुऔषधका १ हजार १ सय ५, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरका १ हजार ८ र भवितव्य ज्यान सम्बन्धी ७ सय ७२ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
चोरीका ४ सय ३०, जबरजस्ती करणीका ३ सय ९०, सवारी ज्यान सम्बन्धी २ सय ९९, ठगी र अपराधिक विश्वासघातका १ सय ९८, ज्यान मार्ने उद्योगका १ सय ३०, बहुविवाहका १ सय ८ र कर्तव्य ज्यानका ९० वटा घटना दर्ता भएका छन् । त्योबाहेक अन्य विभिन्न अपराधिक घटनासँग सम्बन्धित मुद्दा प्रहरीमा दर्ता भएको छ ।









