पथरी, २६ बैशाख / मोरङको पथरी शनिश्चरेमा पहिलो पटक आजबाट पथरी शनिश्चरे नगरस्तरीय खुला सिंगिङ तथा डान्सिङ आइडल २०८२ सुरू भएको छ ।
२०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा गायन र नृत्यको आइडल सुरू भएको हो । समितिका अध्यक्ष धनराज राई अमीरले चार चरणमा हुने प्रतियोगिताको पहिलो चरणको खुला अडिसन बैशाख २६ गते हसन्दह बजारमा भएको प्रतियोगितामा नृत्यमा ५० जना र गायनमा १२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सङीत संयोजक अर्जुन सेन्चुरी र नृत्य संयोजक राम बिकले प्रतियोगिताको संयोजन गर्नु भएको थियो । पहिलो चरण अन्तर्गत २७ गते पथरी बहुमुखी क्याम्पसमा अर्को अडिसन हुनेछ । उहाँले नगर बाहिर बस्ने नगरवासीका लागि भनें भर्चुअल अडिसन समेत गरिने उल्लेख गर्नुभयो ।
दोस्रो चरणको छनोट कार्यक्रम जेठ ३ गते पथरी बहुमुखी क्याम्पसमा हुनेछ, जसबाट उत्कृष्ठ २०/२० जनाको छनोट गरिने छ । तेस्रो चरण जेठ १० गते एभरेष्ट बोर्डिङमा सञ्चालन गरी उत्कृष्ठ १० /१० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हरियाली सामुदायिक वन समूहको हलमा हुने तय भएको छ ।
फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एकजना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको पनि जानकारी गराइएको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।









