पथरी, २६ बैशाख / सृजना क्षेत्रमा सक्रिय मोरङको पथरी शनिश्चरेमा यसबेला बालबालिकादेखि युवा पुस्तामात्र नभएर ज्येष्ठ उमेरकाहरु समेत आफूसँग भएको प्रतिभा उजागर गर्ने ध्याउन्तेमा छन् ।
अर्थात यसबेला प्रारम्भ भएको सिङगिङ तथा डान्सिङ आइडलको प्रतिष्पर्धाका लागि गाउन र नाँच्नमा उनीहरु तल्लिन छन् ।
पथरी शनिश्चरे नगरपालिकाको आर्थिक व्यवस्थापनमा नगरको उपसमितिका रुपमा गठन भएको कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा पहिलो पटक सञ्चालन भएको पथरी शनिश्चरे नगरस्तरीय खुला सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धा सुरु भएको छ ।
पहिलो चरणको छनोटका लागि हसन्दह र पथरीमा गरी नृत्यमा ११४ जना र गायनमा १०२ जनाले भाग लिएका थिए । जसमध्ये नृत्यतर्फ ४८ र गायनतर्फ ५७ जना छानिएका छन् । छनोट चरणमा गायनतर्फ वीरध्वज शिवा, अवोध पन्धाक र नन्दु गुरुङ तथा नृत्यतर्फ चन्द्र तामाङ र अविनास विश्वकर्मा निर्णायकका रुपमा रहनु भएको थियो । समितिको गीत संगीत विभाग प्रमुख अर्जुन सेञ्चुरी, नृत्य विधाका संयोजक रामबहादुर विश्वकर्माले प्रतियोगिताको संयोजन गर्नुभएको छ । जहाँ १० वर्षदेखि ६५ वर्ष उमेर समूहकाले प्रतिष्पर्धा गरेका छन् ।
जेठ ३ मा आयोजना गर्ने अबको दोस्रो चरणबाट दुबै विधामा उत्कृष्ठ २०/२० जना छनोट गरिने छ ।
जेठ १० गतेको तेस्रो चरणबाट उत्कृष्ठ १० /१० जना छानिनेछन् । त्यसपछि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हुने समितिका अध्यक्ष धनराज राई अमीरले जनाउनु भयो ।
फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगर क्षेत्रका एकजना सर्जकलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित समितिले विगत ७ वर्षबाट साहित्य र कलाका गतिवधि वर्षेनी सञ्चालन गर्दै आएको छ ।









