दमक, २९ बैशाख / ढल निकासको पाइप विछ्याउन भत्काएको सडक लामो समयसम्म त्यसै अलपत्र पारेर छोडिएपछि दमक ५ स्थित दीपिनी मार्गका बासिन्दा आन्दोलित भएर सडक अवरोध गरिरहेका छन् । यसक्रममा मंगलबार वडा कार्यालय र नगरपालिका कार्यालयमा स्थानीय डेलिगेशन जाने निर्णय भएको छ ।
दीपिन मार्ग सडक उपभोक्ता समितिको सोमबार साँझको बैठकले नजिकै रहेको वडा कार्यालय र नगरपालिका कार्यालयमा डेलिगेशन गई चाँडो भन्दा चाँडो सडक निर्माणको माग राखिने निर्णय भएको उपभोक्ता समिति अध्यक्ष टेकेन्द्र बुढाथोकीले जनाउनु भयो । उहाँले ढल पाइप विछ्याउन भत्काइएको सडक ०८१ चैत मसान्तभित्रमा कालोपत्रे गर्ने भनेर सम्झौता भएपनि ढलको पाइप मात्रै विछ्याएर सडक त्यसै अलपत्र पारेपछि समस्या भएको बताउनु भयो । संघीय खानेपानी तथा ढल परियोजनामार्फत सञ्चालित ढल निकासको कार्यक्रम अघि बढाइएको भएपनि यसबेलाको सम्झौताको समय अवधि सकिएको भन्दै ठेक्का लिने पक्षले काम नगरेपछि नगरपालिका कार्यालयमार्फत सम्झौता थप्ने विषयमा पनि छलफल भएको बताउनु भयो । गत बैशाख २४ गते मन्त्रालयका प्रतिनिधि, आयोजना प्रमुख, नगर प्रमुखसहितको सहभागितामा सो सडक सम्बन्धि छलफल भई नगर प्रमुख रामकुमार थापाले आफूले परियोजनाको सम्झौता थप गर्न पत्राचार गर्ने जनाउनु भएको थियो । साथै थप सम्झौताको प्रक्रिया अघि बढेको एकसाताभित्र सडक निर्माणको काम थाल्ने ठेकेदार पक्षबीच सहमति समेत भएको थियो ।
नगरको सबै ढल निकास भइ जम्मा गरिने जग्गा व्यवस्थापनमा समेत समस्या भएपछि ढल निकासका लागि सडकमा विछ्याउन थालिएका योजना अलपत्र पर्ने अवस्था समेत देखिएको छ । ढलको परियोजनास्थल बन्ने कुराको समस्या एक ठाउँमा रहेपनि पाइप विछ्याइएका सडक कालोपत्रे गरिहाल्नु पर्ने स्थानीयको जोडदार माग छ । जस अन्तर्गत स्थानीयले दीपिनी मार्गको सडक खाल्डाखुल्डी बनेर अस्तव्यस्त अवस्थामा रहेपछि आज बिहानबाट सडक अबरुद्ध गरेका छन् ।
घाम लागेको बेला सडकको धुलो उडेर स्थानीय व्यवसायीसहितका वासिन्दालाई समस्या हुने र पानी परेको बेला खाल्डामा पानी जमेर सडक नै भासिने गरेको समस्या भएपछि स्थानीय सडक बन्द गरेर आन्दोलित भएका हुन् । तत्काल सम्झौता थप गरेर सडक कालोपत्रे गर्नुपर्ने स्थानीयको माग यलम्बर चोक उत्तरमा सडकमा बाँस बाँधेर अबरुद्ध गर्दै सडक चाँडो पुरेर कालोपत्र गर्न दमक नगरपालिका कार्यालयसँग स्थानीयले माग अघि सारेका छन् ।
सो सडकखण्डको पूर्वी किनारमा ५ नम्बर वडा कार्यालय र पश्चिम किनारमा दीपिनी आधारभूत विद्यालय समेत पर्दछ । वडा कार्यालय अगाडि नै सडक खाल्डो परेर सिटी सफारी दुर्घटना समेत भएको अवस्था छ । धुलोले पसलका सामानहरु बिग्रिएको समेत दर्शाउँदै दमक फन जोनका सञ्चालक घनेन्द्र पाठकले नगरपालिका कार्यालयले सम्बन्धित पक्षलाई चाँडो सडक बनाउन लगाउनु पर्ने माग गर्नुभयो । उहाँले पटक पटक नगरपालिका कार्यालयमा जाँदा पनि चाँडै बनाउन पहल भइरहेको भन्ने आश्वासन मात्र आउने गरेको गुनासो गर्नुभयो ।
सडक खनेर महिनौंदेखि अलपत्र छोडेको अवस्था छ । सम्बिन्धित सडक निर्माणको प्रतिक्षा गरेको लामो समय भएको अवस्थामा अझै यसलाई बेवास्ता गरे अझ सशक्त रुपमा उत्रिन बाध्य हुने स्थानीय सूर्य न्यौपाने, राम रिमालसहितका स्थानीवासीको धारणा छ ।
दीपिनीमार्ग अन्तर्गत पूर्वपश्चिम सडकको सगरमाथा पेट्रोलपम्पदेखि लाइफलाइन अस्पताल उत्तर रातोपुल क्षेत्रसम्मको सडक उही हालतमा रहँदा स्थानीय धुलो र हिलोको समस्याबाट पीडित छन् भनें त्यस क्षेत्रमा यातायातका साधन गुडाउननै निकै समस्या छ ।









