दमक, ३० बैशाख । ढल निकासको पाइप विछ्याउन भत्काएको सडक लामो समयसम्म त्यसै अलपत्र पारेर छोडिएको विषयमा दमक ५ स्थित दीपिनी मार्गका बासिन्दाले मंगलबार वडा कार्यालय र दमक नगरपालिका कार्यालयमा ३ वुँदे ज्ञापनपत्र बुझाएका छन् ।
सोमबारबाट यलम्बर चोक क्षेत्रमा स्थानीय आन्दोलित हुँदै सो क्षेत्रमा ढाट लगाएर सडक अबरुद्ध गरेपछि मंगलबार आफ्ना माग पुरा गराउन दबाब दिन वडा कार्यालय र नगरपालिका कार्यालयमा पुगेका हुन् । त्यसपछि स्थानीयले भृकुटी चोकको प्रवेशद्वार र सगरमाथ पेट्रोलपम्प नजिकको प्रवेशद्वारमा समेत ढाट लगाएर थप सडक अवरुद्ध गरेका छन् । दीपिनी मार्ग सडक उपभोक्ता समिति अध्यक्ष टेकेन्द्र बुढाथोकीको अगुवाईमा दमक ५ का अध्यक्ष इन्द्रबहादुर गुरुङ र नगर प्रमुख रामकुमार थापालाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा, निर्माण व्यवसायीलाई तत्काल सम्पर्क गरी सडक निर्माण थाल्नुपर्ने, धुलो र हिलो हुँदाको अवस्थालाई ठेकेदार पक्षले व्यवस्थापन गनुपर्ने, सडक निर्माण सुरु गर्ने पूर्ण सुनिश्चितनभएसम्म सो सडकमा यातायातका साधनमा पूर्ण रोक लगाउनु पर्ने माग राखिएको छ ।
समिति अध्यक्ष बुढाथोकीले ढल पाइप विछ्याउन भत्काइएको सडक ०८१ चैत मसान्तभित्रमा कालोपत्रे गर्ने भनेर सम्झौता भएपनि ढलको पाइप मात्रै विछ्याएर सडक त्यसै अलपत्र पारेपछि समस्या भएको बताउनु भयो । संघीय खानेपानी तथा ढल परियोजनामार्फत सञ्चालित ढल निकासको कार्यक्रम अघि बढाइएको भएपनि यसबेलाको सम्झौताको समय अवधि सकिएको भन्दै ठेक्का लिने पक्षले काम नगरेपछि समस्या भएको छ । तर नगर प्रमुख रामकुमार थापाले तोकिएको समयमा काम सम्पन्न नगरी ठेकेदारबाट बैमानी भएको उल्लेख गर्दै स्थानीयको पीरमर्का र आन्दोलनका विषय सम्बन्धित विभागमा जानकारी गराएर चाँडोभन्दा चाँडो सडक बन्नुपर्नेमा आफूले समेत पत्राचार गर्ने जवाफ दिनुभयो ।
गत बैशाख २४ गते मन्त्रालयका प्रतिनिधि, आयोजना प्रमुख, नगर प्रमुख, ठेकेदार पक्षसहितको सहभागितामा सो सडक सम्बन्धि छलफल भएको र एक साताभित्र काम थाल्ने सहमति गरेको नगर प्रमुख थापाले उल्लेख गर्दै भन्नुभयो सबै पक्ष बसेर सहमति भयो । काम चाँडै थालिनुपर्छ । यसमा समयमा काम नगर्ने ठेकेदारको बैमानी छ ।’
नगरको सबै ढल निकास भइ जम्मा गरिने जग्गा व्यवस्थापनमा समेत समस्या भएपछि ढल निकासका लागि सडकमा विछ्याउन थालिएका योजना अलपत्र पर्ने अवस्था समेत देखिएको छ । ढलको परियोजनास्थल बन्ने कुराको समस्या एक ठाउँमा रहेपनि पाइप विछ्याइएका सडक कालोपत्रे गरिहाल्नु पर्ने स्थानीयको जोडदार माग छ । जस अन्तर्गत स्थानीयले दीपिनी मार्गको सडक खाल्डाखुल्डी बनेर अस्तव्यस्त अवस्थामा रहेपछि अबरुद्ध गरेका छन् ।
घाम लागेको बेला सडकको धुलो उडेर स्थानीय व्यवसायीसहितका वासिन्दालाई समस्या हुने र पानी परेको बेला खाल्डामा पानी जमेर सडक नै भासिने गरेको समस्या भएपछि स्थानीय सडक बन्द गरेर आन्दोलित भएका हुन् ।
दमक ५ का वडाध्यक्षले गुरुङ ठेकेदार पक्षले काम नगर्दा समस्या भएको ठहर गर्दै यसखाले समस्या वडा कार्यालय र वडावासीको रहेको उल्लेख गर्दै चाँडो निर्माणको पक्षमा उहाँले समेत जोड दिनु भयो ।
सो सडकखण्डको पूर्वी किनारमा ५ नम्बर वडा कार्यालय र पश्चिम किनारमा दीपिनी आधारभूत विद्यालय समेत पर्दछ । वडा कार्यालय अगाडि नै सडक खाल्डो परेर सिटी सफारी दुर्घटना समेत भएको अवस्था छ । धुलोले पसलका सामानहरु बिग्रिनु मात्र नभई मानिसहरु विरामी समेत पर्न थालेको स्थानीयको पीडा छ ।
सडक खनेर २ महिना अघिबाट अलपत्र छोडेको अवस्था छ । दीपिनीमार्ग अन्तर्गत पूर्वपश्चिम सडकको सगरमाथा पेट्रोलपम्पदेखि लाइफलाइन अस्पताल उत्तर रातोपुल क्षेत्रसम्मको सडक उही हालतमा रहँदा स्थानीय धुलो र हिलोको समस्याबाट पीडित छन् भनें खाल्डाखुल्डीका कारण त्यस क्षेत्रमा यातायातका साधन गुडाउननै निकै समस्या छ ।









