फुटबल जगाउँदै साङ्गे

जसको अगुवाईमा इलामको फुटबलले रच्दैछ इतिहास

माईभ्याली गोल्डकपसँगै सुस्ताएको फुटबलले गत वर्षदेखि पुनः लय समातेको छ । यसका लागि रेडहर्ष फुटबल क्लव र यसका अगुवा साङ्गे एल्मूको योगदान चर्चायोग्य छ ।

इलाम, ६ जेठ । पर्यटकीय हिसाबले मात्र होइन, फुटबलमा पनि निकै अगाडि छ इलाम । त्यही भएर इलामलाई फुटबलको ऊर्वर भूमि भन्न थालिएको छ । हुन पनि इलामले लोकबन्धु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता फुटबलका राष्ट्रिय हस्तीहरू जन्माइसकेको छ । महिला फुटबल खेलाडी एन्जिला तुम्बापो पनि इलामेली नै हुन् ।

फुटबलप्रतिको क्रेजकै कारण इलामका गाउँ गाउँमा विभिन्न प्रतियोगिता हुने गरेका छन् । सदरमुकाममा हरेक वर्ष अन्तराष्ट्रिय स्तरकै प्रतियोगिता हुन्छ ।

पूर्वी पहाडकै ठुलो धनराशी पुरस्कार राखिएको ‘अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप’ ले छैटौं संस्करणपछि निरन्तरता पाउन सकेन । २०७६ साल फागुन २४ गते छैटौँ संस्करणको माईभ्याली गोल्डकप सम्पन्न भएयता सो प्रतियोगिता आयोजना नै हुन सकेको छैन ।
माईभ्याली गोल्डकपसँगै सुस्ताएको फुटबलले गत वर्षदेखि पुनः लय समातेको छ । यसका लागि रेडहर्ष फुटबल क्लव र यसका अगुवा साङ्गे एल्मूको योगदान चर्चायोग्य छ । एल्मूकै पहलमा गत वर्षदेखि इलाम गोल्डकपले निरन्तरता पाएको छ ।

यसअघि एउटा टीममा मात्र सीमित रेडहर्ष फुटबल क्लवले २०८० सालमा ताप्लेजुङमा आयोजित प्रतियोगिता जितेपछि आफ्नै जिल्लामा गोल्डकप गराउन एल्मू हौसिनु भएको हो । एल्मू भन्नुहुन्छ— ‘८० सालमा ताप्लेजुङमा भएको प्रतियोगिताको फाइनल जितेपछि खेल्ने मात्रै होइन अब जिल्लामा खेलाउनु पनि पर्छ भन्ने भयो र टीममा सल्लाह गरेर प्रतियोगिता थालनी गरियो ।

इलाम गोल्डकपको थालनीमा टीमका सबै जनाको उत्तिकै भूमिका छ भने माईभ्याली गोल्डकप सञ्चालन गर्नुभएका दाइहरूको साथ र सल्लाहअनुसार दुईवटा संस्करण सम्पन्न गर्न सफल भइएको हो ।’ इलाममा एउटा पुरुष र एउटा महिला अन्तर्राष्ट्रिय फुटदब प्रतियोगिता सञ्चालन गर्नैपर्ने साङ्गेको जोड छ । भन्नुहुन्छ— ‘फुटबलप्रतिको क्रेज, नयाँ खेलाडी उत्पादन र प्रोत्साहनका लागि पनि प्रतियोगिता महत्त्वपूर्ण हुँदो रहेछ ।’ इलाम गोल्डकप सुरु हुनु अघिसम्म रेड हर्ष फुटबल क्लवबारे धेरैलाई थाहै थिएन । यही क्लवको अगुवाईमा इलाम गोल्डकपका दुइटा संस्करण सम्पन्न भइसकेका छन् ।  अव हुने तेस्रो संस्करणको जिम्मा सेवक देवानको काँधमा पुगेको छ ।

पाराफिट अभाव

पक्की पाराफिटको अभावमा फुटबल प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गर्नुपरेको छ । अहिलेसम्म बाँसका अस्थायी प्याराफिट बनाएर जेनतेन प्रतियोगिता टारेपनि खर्च धान्नै मुस्किल पर्ने साङ्गे बताउनुहुन्छ ।

महिला फुटबलमा इलाम
महिला फुटलमा पनि इलामको योगदान मूल्यवान छ । पूर्वी भेगका महिलाका लागि फुटबल खेल्ने परिवेश अनुकूल बनेपछि त्यसको फाइदा धेरै महिलाले लिए । कति जना राष्ट्रिय स्तरका खेलाडी बने भने कतिपयले लामो समयसम्म फुटबललाई साथ दिन सकेनन् । रमा सिंहको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जनु खड्का, सङ्गीता रावत, शोभा राई र जमुना पाण्डे समावेश थिए । उहाँहरूबाट अन्य खेलाडीलाई पनि प्रेरणा मिल्यो ।

२०४० साल आसपास त इलाम महिला खेलाडीको हब नै बन्यो । २०४३ सालमा राष्ट्रिय महिला फुटबल टोलीमा इलामका १२ जना खेलाडी समावेश भएका थिए । त्यही क्रमलाई पच्छ्याउँदै रञ्जना दर्जी, संरचना प्रधान, एन्जिला सुब्बा लगायतले महिला फुटबलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका छन् ।

गाउँ गाउँमा फुटबल

स्थानीय तहमा खेलमैदानको विकास भएसँगै एन्फा मान्यताप्राप्त रेफ्री ल्याएर प्रतियोगिता सञ्चालन गरिने हुँदा पनि फुटबलमा आकर्षण बढ्दो छ  । हरेकजसो वडामा इलेभेन साइडका खेल मैदान निर्माण भएका छन् भने कतिपय ठाउँमा निर्माण हुने क्रममा छन् । जिल्लामा पर्यटकीय गतिविधि बढेसँगै फुटबललाई पर्यटनसँग जोडेर हेर्ने गरिएको छ ।

स्थानीय तहहरूले पनि कार्यक्रम नै राखेर खेलकुद गतिविधिलाई प्राथमिकता दिन थालेका छन् । परम्परागत शैली छोड्दै आधुनिक फुटबल खेलाउने अभ्यास बढेकाले पनि यस्ता प्रतियोगिताप्रति आकर्षण बढेको फुटबलप्रेमी बताउँछन् ।

इलामको इतिहासमा फुटबल

फुटबलमा इलामले इतिहास बोकेको छ । सुगौली सन्धिले दार्जिलिङ भारतमा गाभिएपछि त इलाम र भारतको आउजाउ झनै बाक्लो हुन थाल्यो । त्यही बेला ब्रिटिस सेनाको भर्ती घुम पहाडमा भयो । भारतमा काम गर्ने र सेनामा भर्ती भएका नेपालीहरु घर आउँदा कोसेलीका रुपमा फुटबल लिएर आउन थाले ।

इलाममा टीम बनाएरै फुटबल खेल्ने चलन भने १९८० को दशकमा सुरु भएको पाइन्छ । इलामलाई फुटबलसँग चिनाउने मुख्य श्रेय राज शमशेरलाई जान्छ । १९९० मा जर्नेल महावीर शमशेर जबरा बडाहाकिम भएर इलाम पुगे । त्यसपछि फुटबलको रङ्ग बदलियो । इलामे टीमलाई बडाहाकिमको टिमले नजितेसम्म खेल जारी रहने इतिहास छ । राति भए मैदानको चारैतिर पेट्रोलमेक्स बालेरै भए पनि खेल्ने चलन थियो । ‘बडाहाकिमको टीमले जितेपछि तोप पडकाएर भोजको सङ्केत गरिन्थ्यो । दुवै टीमका खेलाडीलाई बडाहाकिमले दरबारमा लगेर भोज खुवाउने गरेको इलामका अग्रज युद्धप्रसाद वैद्य सम्झनुहुन्छ ।

बडाहाकिमले सुरु गरेको फुटबल बिस्तारै फस्टाउँदै गयो । त्यसपछि इलाममा खेलाडी उत्पादन हुन थाले । त्यसपछिको छोटो समयमा इलामले धेरै राम्रा राम्रा खेलाडी पायो । रूपकराज शर्मा नेतृत्वको विश्वकप छनौट खेलेको नेपाली राष्ट्रिय फुटबल टोलीमा इलामका धिरेन्द्र प्रधान (जो एन्फाको महासचिवसमेत हुनुभयो ) र गणेश पाण्डे समावेश हुनुहुन्थ्यो ।

त्यसपछि झ्याङ्गिएको फुटबलले लोकबन्धु गुरुङ, सुवास राईजस्ता हस्ती दियो । बिस्तारै नवयुग श्रेष्ठजस्ता आशलाग्दा खेलाडी इलामले जन्मायो । अहिले छिरिङ गुरुङ, मनिष थापा र दर्शन गुरुङको पुस्तासम्म पुग्दा इलामको फुटबल उस्तै उल्लासमय छ । इलाममा यति धेरै स्टार खेलाडीहरू छन् कि उनीहरुले काठमाडौका अधिकांश क्लव धानिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय