दमक, ६ जेठ / झापाको दमक १ मा रहेको दमक बहुमुखी सहकारी संस्था लिमिटेडले नसर्ने रोग पहिचान अभियान कार्यक्रम तथा अन्तराष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा उत्कृष्ट नर्स सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीको प्राङ्गणमा आयोजित कार्यक्रममा उत्ृकष्ट नर्सका रुपमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील दुईजना नर्स सम्मानित बनेका छन् । हाल दमक नगरपालिका वडा नम्बर ९ स्थित नगर स्वास्थ्य केन्द्रमा सिनियर अनमी निरीक्षक पदमा कार्यरत सुश्मा पौडेल र वडा नम्बर २ स्थित आधारभूत स्वास्थ्य केन्द्र अन्तर्गत सिनियर अनमी निरीक्षक मदन कुमारी गौतमलाई नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसमा उत्कृष्ट नर्सका रुपमा सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख रामकुमार थापाले नगरवासीको स्वास्थ्यप्रति स्थानीय सरकार सधैं सचेत रहेको र बिभिन्न कार्यक्रमहरु गर्दै आएको उल्लेख गर्दै सहकारीले स्वास्थ्य क्षेत्रमा नगरपालिकालाई थप काम गर्न प्रेरित गरेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष मोहनकुमार श्रेष्ठ, सहकारीका स्वास्थ्य उपसमिति संयोजक बुद्धिशेखर भट्टराई लगायतको उपस्थिती रहेको थियो ।









