दमक, ८ बैशाख – दमकको फोहोरले गाउँमा दुर्गन्ध फैलिएपछि आन्दोलित बनेका इलामको चुलाचुलीबासी र दमक नगरपालिकाबिच सहमति भएको छ। दमकको फोहोरले बस्तीमा असर गरेको भन्दै गत शनिबारदेखि चुलाचुली गाउँपालिका–५ का वडाध्यक्ष बबिन राईको संयोजकत्वमा संघर्ष समिति नै बनाएर दमकको फोहोर फाल्न अवरोध भएको थियो।
दमक नगरपालिकाले चुलाचुली गाउँपालिकासँगको सिमानामा रहेको दमक–२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा दैनिक २६ टन फोहोर फ्याँक्दै आएको छ। फोहोरले चुलाचुली– ५ का रमाइलो बस्ती, चपेटी, कोलडाँडा, चन्द्रनगर, शिखरकटेरी, आँपझोला, धिमालटार बस्ती प्रभावित भएका भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए। बुधबार संघर्ष समिति र दमक नगरपालिकाको बैठकले फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि दमक र प्रभावित क्षेत्र चुलाचुलीका स्थानीय सम्मिलित ९ सदस्यीय फोहोरमैला व्यवस्थापन समिति बनाउने सहमति गरेको चुलाचुली– ५ का वडाध्यक्ष बबिन राईले जानकारी दिनुभयो । उक्त समितिले स्थलगत अवलोकन गर्ने, विज्ञसँग छलफल गर्ने, विकल्प तयार गर्ने स्थानीयको गुनासो सुन्नेलगायत निर्णय भएको उहाँले बताउनु भएको छ ।
दमक– ७ का वडाध्यक्ष भीम पौडेलको संयोजकत्वमा समितिले २१ दिनभित्र काम सक्ने सहमति भएको छ । यस्तै, फोहोरको दीर्घकालीन व्यवस्थापन नभएसम्म व्यवस्थापन गर्ने, फोहोर छोपेर लैजाने, फोहोर स्रोतमा नै कुहिने र नकुहिने छुट्याएर लैजाने सहमति भएको पनि उहाँको भनाई छ ।
यस्तै, फोहोर प्रशोधन क्षेत्रमा छरपस्ट रहेको फोहोरलाई गन्ध नआउने गरी पुर्ने, किटनासक औषधि छर्कने सहमति भएको छ।सहमतिसँगै दमकको फोहोर ६ दिनपछि आजबाट उठ्न थालेको छ । आउने दिन यस्ता गुनासो आउन नदिन समन्वय गर्ने सहमति भएको पनि बताइएको छ ।









