दमक, १० बैशाख / राजावादी शक्ति र राप्रपालगायत दलहरू जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको तयारीमा रहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भने काठमाडौं छाडेर भोलि झापा आउनु हुने भएको छ ।
शाह दमक–९ स्थित हिमालय महालक्ष्मी टी इस्टेटको ‘मिनी दरबार’ मा दुई साता बसोबास गर्ने कार्यक्रम रहेको छ । शाह भोलि दिउँसो २ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी दमक प्रस्थान गर्नुहुने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जनाउनु भयो ।
पूर्व राजा शाह जेठ २५ गतेसम्म झापामा रहनुहुने जनाइएको छ । उहाको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको विशेष टोली काठमाडौँबाट झापामा परिचालित भइसकेको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिम्सिनाका अनुसार केही दिनदेखि पूर्व राजाको परिवारका सदस्यहरू पनि सो मिनी दरबारमा आउने–जाने गरेका छन् ।
दमकलाई आफ्नो सक्रिय राजनीतिक भेटघाटको थलो बनाउँदै आउनुभएका पूर्व राजा शाहको यो आगमनलाई राजावादी आन्दोलनको सन्दर्भमा विशेष रुपमा हेरिएको छ । स्थानीयस्तरमा पूर्व राजा समर्थकहरूको चहलपहलसमेत बढ्न थालेको छ ।









