दमक, १२ जेठ / आम्दानीका स्रोत घट्ने र खर्चका शिर्षक बढ्ने समस्या बढ्दो छ । रोजगारीका अवसर कम छन्, रोजीरोटी जुटाउन समस्या छ । यस अवस्थामा घरमै बसेर घरको काम भ्याएर फुर्सदको समयमा गृहिणीहरुले केही इलम गरेमा गर्जो टार्न मद्धत पुग्ने तालिमहरु पनि सञ्चालनमा आएका छन् ।
पहाडे काँचो कागजमा धुपजन्य धुलो बाटेर धुप बनाउने कामले घर व्यवहारमा केही मद्धत पुग्ने बुझेर यसको तालिम लिनेहरु बढेका छन् । यस क्रममा झापाको दमक ५ नम्बर वडा कार्यालयले यस्तै धुप बनाउने ५ दिने तालिम अघि बढाएको छ ।
स्थानीय यलम्बर चोककी सुनिता सुवेदीलाई धुप बाट्न सिक्ने लामो समयदेखिको रहर यसबेला वडाको तालिमले पुरा गरिदिएको छ । तालिमपछि आफूले आफ्नो घरका लागि मात्र नभएर व्यवसायिक हिसावले केही गर्ने चाहना बढ्दै गएको उहाँले सुनाउनु भयो । कहिले कहाँ तालिम लिन पाइएला भन्ने थियो । यहीँ अवसर मिल्यो, केही गर्ने रहर अब पुरा गर्न लाग्छु ।’– उहाँले भन्नुभयो ।
दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालिको प्राविधिक सहयोगको सो तालिममा सुवेदी मात्र होइन २० जना महिलाहरु उत्सुकतापूर्वक सहभागि बनेका छन् । औषधीय तथा अर्गानिक सुगन्धित धुपजन्य बस्तु मिसाएर गरिने धुपको निर्माण प्रक्रिया सहज हुन्छ । घरको काम भ्याएर फूर्सदमा बाट्न सकिने भएकाले आफूहरु तालिममा सहभागि भएको स्थानीय गृहिणी मायादेवी खतिवडा र तारा थापा बताउनु हुन्छ ।
धुपी, भैरमपाती, कुमकुमपाती, कपुर, तितेपाती लगायतका अर्गानिक र सुगन्धित धुपजन्य कच्चा पदार्थ पहाडी क्षेत्रबाट मगाएर विगत ५ वर्षदेखि धुप बनाउने काम गर्दै आएको तालिम प्रशिक्षक खेमकुमारी संग्रौला ओली बताउनु हुन्छ । ‘सहृदयता’ नामक धुप उत्पादक ओलीले महिलाहरुमा केही गर्ने भावना जगाउन यसखाले तालिमले मद्धत गरिरहेको बुझाई राख्नु भयो ।
यसप्रकारको अर्गानिक धुपको माग बढ्दै आएको अवस्थालाई बुझेर झापाको कमलमा स्थापित ‘दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि’ले अर्गानिक धुप उत्पादनको काम गर्दै आएको यसका प्रमुख विष्णुप्रसाद पोखरेलले जनाउनु भयो । उहाँले पालिका तथा वडा कार्यालयसँगको सहकार्यमा धुप बनाउन सिकाउने काम मात्र नभएर अरुले उत्पादन गरेको धुपको बजारीकरणमा समेत आफ्नो कम्पनीले सघाउने उल्लेख गर्नुभयो । ‘अहिले कम्पनीमा ६५ जनाले धुप बनाइरहनु भएको छ । बाहिर बस्तीमा उत्पादन भएका धुप पनि हामीले लिइरहेका छौं । धुपको बास्ना स्वास्थ्यवद्र्धन हुनुपर्ने सोचले यसखाले काममा लागिपरेका छौं ।’– उहाँले भन्नुभयो । देव कार्य र पितृ कार्यमा बालिने यसप्रकारको धुपलाई अब लामखुट्टे भगाउने धुपका रुपमा पनि विकास गर्ने तयारी चरणमा रहेको नविन योजना समेत उहाँले सुनाउनु भयो ।
तालिममा दिव्यदृष्टिकी वविता तिम्सिना पोखरेलको समेत सहजीकरण रहेको छ ।









