दमक, १३ जेठ / उहाँको हुर्कने, बढ्ने र स्नातकसम्मको अध्ययन गर्ने क्रम भारतको असममा वित्यो । त्यहाँको साहित्यिक गतिविधिमा सामेल समेत बन्दै सृजना कर्ममा आफूलाई अघि बढाउनु भयो । अर्थात हाल झापा दमक १ मा स्थायी बसोबास गर्दै आउनु भएका साहित्यकार प्रकाश गौतम अर्थात बैदिक अत्री असमका साथै पूर्वी नेपालमा फरकशैलीमा कविता लेख्ने कविका रुपमा परिचित हुनुहुन्छ ।
खेमचन्द्र गौतम र धनमाया गौतमका जेठो सन्तानका रुपमा आफ्नो सृजनशील कर्म अघि बढाउँदै आउनु भएका अत्रीकी अर्धाङ्गिनी टीका सुवेदीका साथै छोरी प्रान्सु र छोरा प्रान्तिकको प्रगाढ साथसमर्थनमा ५० औं वर्षको जीवन यात्राका क्रममा समेत आफूलाई उर्जाशील बनाउँदै आउनु भएको छ ।
असममा रहँदा नेपाली, अंग्रेजी, असमिस र हिन्दी भाषा समेतमा विगत ३० वर्षअघिबाट साहित्य लेखनको प्रारम्भ भएको अवस्थामा नेपालमा आएपछि त्यसमा थप मलजल हुने मौका पायो । त्यसैको परिणाम स्वरुप पूर्वको साहित्यमा कविका रुपमा चिनिनु भएका अत्रीको पहिलो कविता संग्रह ‘प्रेमको आकाश’ प्रकाशित भयो । दोस्रो कृतिका रुपमा असमेली कविताहरूको अनुवाद संग्रह प्रकाशनको संघारमा छ ।
शब्द नेशनल लिटरेरी एण्ड कल्चरल फेस्टिभल असमलगायतका साहित्यिक अभियान एवम् संस्थाहरुबाट सम्मानित उहाँ ह्युमन राइट्स इन्टरनेशनल फेडेरेशनको नेपाल सदस्य समेत रहनु भएको छ । उहाँसँग साहित्यिक गतिविधिका बारेमा उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा भएको भलाकुसारीको भिडिओ सामग्री प्रस्तुत छ :









