दमक, २० जेठ । झापा र सप्तरी प्रहरीको संयुक्त प्रयासमा श्रीमतीलाई बिष सेवन गराई हत्या प्रयास गरेको आरोपमा फरार रहेका दिलिप कुमार मरिक डोम पक्राउ परेका छन्।
सप्तरी शम्भुनाथ नगरपालिका–२ स्थायी घर भई हाल झापाको दमक–१ सुम्निमा टोलमा डेरा गरी बस्दै आएका २५ वर्षीय दिलिपले २०८१ साल चैत १० गते बिहान करिब ८ बजे आफ्नी श्रीमती रेणु मरिकलाई बिष सेवन गराई ज्यान मार्ने प्रयास गरेका थिए।
घटनापछि फरार रहेका उनलाई २०८२ साल जेठ १८ गते ईलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरी र ईलाका प्रहरी कार्यालय दमक, झापाको संयुक्त टोलीले सप्तरीबाट पक्राउ गरेको हो।
पक्राउ परेका दिलिपलाई भोलिपल्ट जेठ १९ गते बिहान ९:१३ बजे ई.प्र.का. दमकमा ल्याई बुझाइएको थियो।
उनलाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी थप प्रमाण संकलन र अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ।









