झापा, २८ जेठ | झापाको कचनकवल गाउँपालिका–७ बैगुनबारीमा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय ६५ वर्षीय किर्खनाथ खनालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।
आज बिहान करिब ८:३० बजे खनाल आफ्नै बारीमा बाख्रा चराउन गएका थिए। हात्तीले अन्नबालीमा क्षति नपुर्याओस् भन्ने उद्देश्यले उनले खेत वरिपरि लगाएको तारबारमा करेन्ट प्रवाह गरिएको थियो। सोही करेन्ट प्रवाहित तारमा छोइएपछि घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रञ्जित सिंह राठौरले घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा प्रहरी टोली खटिएको जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाले वन्यजन्तुबाट बाली जोगाउन तारमा करेन्ट प्रवाह गर्ने क्रम बढ्दो छ भन्दै यस्ता उपायप्रति सचेत हुन आग्रह गरेका छन्।









