दमक, जेठ २८ । पछिल्लो केही दिनयता दमकसहित पूर्वी नेपालका विभिन्न स्थानमा अत्यधिक गर्मी महसुस हुन थालेपछि दमक नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
दमक नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीको हस्ताक्षरमा जारी सूचनामा उल्लेख गरिएअनुसार जेठ २९ गते बिहीबार र ३० गते शुक्रबार विद्यालयहरू बन्द रहनेछन्।
सूचनामा भनिएको छ, “दमक लगायत नेपालको अधिकांश स्थानमा तापक्रममा उल्लेखनीय वृद्धि भई अत्यधिक गर्मी महसुस भएको छ।
गर्मीको कारण बालबालिकाहरू प्रभावित हुने र सिकाइ प्रक्रियामा समेत असर पर्न सक्ने भएकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरिएको छ।”
नगरपालिकाले सबै वडाका कार्यालय, निजी तथा आवासीय विद्यालय अन्र्तनिर्देशन, र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अन्र्तनिर्देशनलाई उक्त निर्णयको जानकारी गराइसकेको छ।
दमक नगरपालिकाले यस्तो अवस्थामा सबै अभिभावकहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेको छ।









