पथरी शनिश्चरे, ३१ जेठ । पञ्चायती व्यवस्था फाल्ने गीत संगीतको अभियानमा उत्तरपूर्वी मोरङको पथरी शनिश्चरेको योगदान महत्वपूर्ण छ । ०४६ सालको परिवर्तनपछिको बहुदलीय व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउने खबरदारीमा पनि त्यहाँको भूमिका कम महत्वपूर्ण रहेन ।
खबरदारीसहितको जागरण अभियानका अभियन्तामध्येका एक हुनुहुन्छ धनराज राई । डम्बरबहादुर राई र स्वर्गीय धनमाया राईको साहिलो सन्तानका रुपमा वि.सं. २०३३ फागुन ५ गते इलामको तात्कालिन बाँझोस्थित चुलाचुलीमा जन्मिनु भएका उहाँ गीत संगीतमा लागेपछि अमीर राईका नामले परिचित बन्नुभयो ।
वि.स.ं २०३६ सालमा बसाईं सरेर पथरी गाविसमा बसोबास गर्दै आउनु भएका उहाँ ०४७ सालबाट गीत संगीतमा लाग्नुभयो । त्यसबेला साविक पथरी २ मा गठित कोपिला जनसांस्कृतिक मञ्चका सक्रिय सदस्य भएर जनवादी गीत संगीतमा समेत आफ्नो सक्रियता बढाउनु भयो । उच्चशिक्षा अध्ययनका क्रममा ०५१ सालबाट काठमाडौंमा रहेर अनेरास्ववियूको उपत्यका सांस्कृतिक कमिटीको सदस्य र आरआर क्याम्पसमार्फत रोदन सांस्कृतिक समूहको अध्यक्ष भएर गीतसंगीतको क्षेत्रमा काम गर्नुभयो ।
ग्रामिण विकासमा स्नातकोत्तर उहाँको पहिलो गीती एल्बम ‘सप्रेम’ ०६३ मा र दोस्रो एल्बम ‘सन्दर्भ’ ०७० सालमा बजारमा आए । दुई एल्बमा गीतमध्ये ‘सप्रेम’ को ‘जहाँनिर दिल बस्यो त्यही माया राम्रो’बाट उहाँलाई मुख्य रुपमा चिनायो । सहकारी, वन, ज्येष्ठ नागरिक सहितका विषयमा गीत समेत गाउनु भएका उहाँका हालसम्म ३ दर्जन हाराहारीमा गीत रेकर्ड भएका छन् । उहाँ बुद्धिचालतर्फको जिल्लाको उत्कृष्ठ खेलाडी समेत हुनुहुन्छ ।
पथरी शनिश्चरे नगरले गठन गरेको कला साहित्य प्रवद्र्धन समितिका साथै, लर्ड बुद्ध सहकारी, फ्रेण्डसीप चेक क्लबको अध्यक्ष रहेर सामाजिक अभियानका लागि संस्थागत गतिविधिमा सक्रिय हुनुहुन्छ । कार्यक्रम ‘अनुशीलन’ को ३६ औं श्रृंखलामा उहाँसंग गरिएको भलाकुसारी र सृजना प्रस्तृतिको भिडिओ सामग्री प्रस्तुत छ :









