पाठ्यक्रम बनाउनु ज्यादै कठिन कार्य हो । यो कुनै मौलिक कृति लेखेजस्तो हुँदैन । यसका निश्चित मानकहरु हुन्छन् । ‘बाल मनोविज्ञान’का आधारमा कक्षागत, तहगत ‘दायरा र अनुक्रम’ मिलाउन गाह्रो काम हो । त्यो पनि विद्यालयमा अध्यापन गराउँदै समय निकालेर ।
पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक लेखिन्छ त्यो झन धेरै कठिन हुन्छ त्यो पनि आधारभूततहका लागि । स्थानीय पाठ्यक्रमका रुपमा पथरी शनिश्चरे नगरपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक प्रकाशन गरेर नमुना कार्य गरेको छ । यस कार्यमा लाग्नुहुने सबैलाई धन्यवाद छ ।
पुस्तक प्रकाशन भयो पालिकाका सबै विद्यायालयका विद्यार्थीहरुका हातमा पुस्तक पुगिसकेको अवस्था छ । यहि शैक्षिक सत्रबाट अब स्थानीय पाठ्यपुस्तक पढाइ हुन्छ, पथरी शनिश्चरेका लागि गौरवको कुरा हो ।
पुस्तक प्रकाशन भएपछि पुस्तकमा भएका केही चित्र, केही तथ्यांक, केही मूल्यांकनसंग सम्बन्धि त्रुटीलाई लिएर सकारात्मक आलोचनाका साथै केही ब्यक्तिबाट ज्याद्दै घटिया टिप्पणी पनि पढ्न पाइयो । एकातर्फ चाँडो पुस्तक छाप्नुपर्ने हतारो अर्को । धेरेजनाले विषयबस्तु बाँढेर लेखिएको पुस्तकमा अन्तिम प्रुफ हेराइमा कमजोरी भएको हुन सक्छ । कहिले काँहि कम्प्युटर मुद्राराक्षसको कारणले पनि बिग्रन सक्छ । यसको समीक्षा होला नै । तर रचनात्मक कार्य गर्नेहरुको मानमर्दन गरेर निरुत्साहित गर्नु ठिक होइन । छापिएका पुस्तकमा भएका वास्तविक त्रुटी पत्ता लगाइ विद्यालयका संम्बन्धित शिक्षक मार्फत सच्याएर पठनपाठन गराउनु पर्ने हुन्छ । अर्को पटकको छपाइमा सच्याउनु पर्ने हुन्छ ।
पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्रले छापेका पुस्तकहरु (जहाँ त्यही कार्यका लागि विज्ञहरु जागिरे हुन्छन् ) मा पनि त्रुटी भेटिन्छन् । तर शिक्षकले सच्याएर पढाउनु हुन्छ । सुझाव दिनु हुन्छ ,अर्को संस्करणमा सच्चिएर आउँछ । प्रक्रिया यही हो नि ।
बरु पुस्तकका विषयबस्तु, क्षेत्र र क्रम मिलेको छ, छैन ? तहगत स्तर मिलेको छ, छैन ? सान्दर्भिकता, स्थानीयता मिलेको छ छैन ?पाठ्यक्रमका उद्धेश्य हाँसिल हुन्छन्, हुदैनन ? यो कुरामा विज्ञ र शिक्षकहरुले सामाजिक सञ्जालमा भन्दा पनि सम्बन्धित पक्षलाई सुझाव दिनु बुद्धिमानी कार्य हुनेछ ।
(निरौला, पथरी शनिश्चरेका मावि पूर्व श्रोत व्यक्ति एवम् पूर्व शिक्षक हुनुहुन्छ ।)









