दमक,२९ असार । विराटनगरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ । २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमध्ये १ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शनिबार साँझ विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट ब्राउन सुगर बरामद गरेको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार ब्राउन सुगरसहित विराटनगर–१२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादवलाई पक्राउ गरिएको छ ।
सडकको ‘साइड’मा रोकेर राखिएको को ३० प ४१० नम्बरको मोटरसाइकलमा अडेस लागेर गफ गरिरहेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । त्यस क्रममा महतोको साथबाट १ सय ७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी चुँडालले बताउनु भयो ।
प्रहरीका अनुसार भारतीय नागरिक यादवले जोगवनीबाट ल्याएर ब्राउन सुगर महतोलाई दिएको हुनसक्ने आशंका छ । यद्यपि, विस्तृत अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डीएसपी चुँडाले बताँउनु भयो।
बरामद भएको ब्राउन सुगर र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




