दमक,२९ असार । सुनसरीको इनरुवामा आफ्नै घरभित्र मृत फेला परेका दम्पतीको शव घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
इनरुवा नगरपालिका–९ बबियाका अन्दाजी ४० वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी ३२ वर्षीया सवेता खातुन आइतबार बिहान घरभित्रै मृत फेला पर्नुभएको थियो । पतिले पत्नीको हत्या गरेपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
‘घटनास्थलको प्रकृति हेर्दा घाँटी थिचेर पत्नीको हत्या गरेपछि पति आफूले पनि आत्महत्या गरेजस्तो देखिन्छ । अनुसन्धानपछि मात्रै घटनाका बारेमा थप प्रष्ट हुन्छ,’ प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार कुनै हतियार प्रयोग गरेर हत्या गरेजस्तो भने देखिँदैन ।
बाँसको टाटीबेरा भएको १ तले कच्ची घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेव मृत फेला पर्नुभएको थियो । सवेता भने घरको सुत्ने कोठाको ओछ्यानमा मृत फेला पर्नुभयो । स्थानीयले घरभित्र दम्पतीलाई मृत फेला पारेपछि आइतबार बिहान ९ बजेतिर प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ थप अनुसन्धानका लागि डीएसपी योगराज खतिवडा नेतृत्वको टोली घटनास्थल पुगेको थियो । डीएसपी खतिवडा नेतृत्वकै टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि पठाएको हो ।
सवेताका आफन्त अहिलेसम्म प्रहरीको सम्पर्कमा पुगेका छैनन् । आफन्त सम्पर्कमा आएपछि शवको पोस्टमार्टम गरिने भएको छ । उनी सुकदेवकी कान्छी पत्नी रहेको प्रहरीले जनाएको छ । सवेताले पनि सुकदेवसँग दोस्रो बिहे गरेको पाइएको प्रहरी स्रोतको भनाइ छ ।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भएको छ । पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट घटनाका बारेमा प्रष्ट हुने उहाँको भनाइ छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय सुनसरीबाट करिब ३ किलोमिटर पूर्व पर्छ ।




