दमक,२९ असार । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) को जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताउनुभयो । केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरुको खेल भएको टिप्पणी गर्दै उहाँले
पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गर्नुभयो । एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पुरा हुँदैन नहुने उल्लेख गर्दै उहाले एमाले साना स्वार्थ बोक्ने पार्टी नभएको बताउनुभयो ।
एमालेविरुद्ध जाल बुन्नेहरु सफल नहुने उल्लेख गर्दै उहाले माकुरोको जालोमा कहिल्यै भैसी नपर्ने बताउनुभयो । हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । उहाँले नेपाललाई एमालेले नसके अरु कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौं विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताउनुभयो । अहिले नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरेको जनाउनुभयो । कार्यक्रममा सयौं युवाहरूलाई अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुभएको थियोे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताउनुभयो । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गर्नुभयो ।
उहाँले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा संचालन गरेपछि यस वर्ष एसइइमा नतिजा १३ प्रतिशतले सुधार आएको बताउनुभयो ।
आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उहाँले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायत सहभागी हुनुहुन्थ्यो ।
यस्तै प्रधानमन्त्री ओलीले आजै हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आव्हान गर्नुभयो ।
उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको थियो ।








