दमक,३० असार । सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या गरिएको छ । हरि नगर गाउँपालिका– ६ घुस्कीमा सोमबार बिहानको राति करिब १ गोली हानी १८ वर्षीय किशोरीको हत्या भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार अन्दाजी १८ वर्षीय अर्सी खातुनको गोली हानी हत्या भएको हो ।
उहाँका अनुसार अनुसार किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेका हुन् । भारतको पुर्णिया जिल्ला पत्राहा पञ्चायत– १६ घुर्नाका २९ वर्षीय आजात मिया जटले गोली प्रहार गरी हत्या गरेको देखिएको उहाँले बताउनु भयो । घटनापछि मिया फरार छन् । फरार मियाको खोजी भइरहेको उहाँले बताउनु भयो ।
उहाँका अनुसार बिहान करिब १ बजे घरमा किशोरीको टाउकोमा १ गोली प्रहार भएको थियो । घटनास्थलमा एउटा खोका पनि फेला परेको बताँउनु भएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कटुवा पेस्तोल प्रहार गरेको जस्तो देखिएको उहाँले बताउनु भयो । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै रहेको छ ।








