दमक,३० असार । स्वास्थ्य बीमा बोर्डले विराटनगरको कोशी अस्पताललाई रेफरल सेन्टर मात्रै बनाएपछि प्रतिनिधिसभा बैठमा मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले आपत्ति जनाउनु भएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले आपत्ति जनाउनु भएको हो ।
निजी अस्पताललाई पोस्ने गरी प्रथम सेवा विन्दु र रेफरल सेन्टर दुबै रहेको कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई धराशायी बनाउने गरी रेफरल सेन्टर मात्रै तोकिएको उहाँले बताउनु भयो ।
सरकारको निर्णयले कोशी र बीपी प्रतिष्ठानमा स्वास्थ्य बीमाका बिरामीले जानुअघि पालिका स्तरका अस्पतालबाट रेफर लिनुपर्नेछ ।
‘धेरै पालिकाहरूसँग त्यो स्तरको अस्पताल छैन, यो निर्णयले कोशी अस्पतालले मात्र दैनिक एक हजार बिरामी गुमाउनुपर्ने अवस्था आउनेछ।’ उहाँले भन्नु भयो ।
पालिका स्तरको अस्पतालबाट रेफर लिएर निजी अस्पतालमा जाने बढी हुने बताउँदै ,उहाँले सरकारी अस्पतालहरूलाई कमजोर बनाएर निजी अस्पतालहरूलाई फाइदा पुर्याउने काम नगर्न आग्रह गर्नु भएको छ ।
सांसद मोदीले यो निर्णय स्वास्थ्य क्षेत्रका बिचौलीयाहरूको प्रभावमा आएको आरोप समेत लगाउनु भएको छ । उहाँले स्वास्थ्य बीमा बोर्डको निर्णय खारेज गरी पूर्ववत् रूपमा अस्पतालहरूलाई प्रथम सेवा विन्दुको सुविधा दिने वातावरण बनाउन माग गर्नु भएको छ ।








