दमक १ साउन | झापा जिल्लाको दमक नगरपालिका–६ मा सञ्चालित सेवारो होटलमा बिहिबार दिउँसो भिषण आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। दिलमाया लावतीले सुरेश कुमार थापाको खाली जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको उक्त होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट ग्यास चुहावट भई पड्किएको थियो।
टिनको छानो र पातलो टिनले बेरिएको कच्ची घरमा सञ्चालित सेवारो होटलमा लागेको आगोले कुनै मानविय र चौपाया क्षति नभएपनि होटलभित्र रहेको लत्ता कपडा, खाद्यान्न, तीन थान फ्रिज, आठ थान ग्यास सिलिण्डर, दुई थान इनभर्टरसहितको सामग्री पूर्णरुपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार मात्रै दिलमाया लावतीको होटलमा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सोही स्थानमा रहेको ज्ञानु रिजालको पक्की दुई तले घर पनि आगलागीबाट प्रभावित भएको छ। घरको पछाडि भागमा रहेको सातवटा झ्यालको सिसा फुट्नुका साथै भित्रको लत्ताकपडा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ।
आगो नियन्त्रण गर्न दमक नगरपालिकाको दमकल, उर्लाबारी नगरपालिकाको दमकल, कमल गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय दमकका १५ जना प्रहरी, तथा सशस्त्र प्रहरी बल नम्बर ३८ रिर्जव गण लखनपुरबाट सशस्त्र प्रमुख माधव खत्रीको कमाण्डमा २५ जनाको टोली परिचालन गरिएको थियो। स्थानीयवासीको सक्रिय सहयोगमा आगो नियन्त्रण गरिन सफल भएको हो।










