दमक, ३ साउन । दमक नगरपालिकाले शुक्रबार एउटा आह्वान सार्वजनिक गर्यो । सो आह्वान थियो दमकमा बिगत सात हप्ता देखी धरानका नगर प्रमुख हर्क साम्पाङ समर्थक समुहले चलाइरहेको सरसफाई कार्यक्रममा सहभागिता हुने शन्दर्भको ।
दमकमा यो समुहले फोटो खिचाउँन र चर्चाका लागी मात्रै सरसफाई गरेका थिएनन् । जहाँ सफाई गरे त्यहाँको सबै फोहोर उठाएपनि । र साँँच्चै सफा दमक चोक क्षेत्र बनाइरहेका थिए । यो सुन्दर अभियानमा साथ दिन भन्दै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले हस्ताक्षरनै गरेर नगरपालिकाको लेटर प्याडमा आह्वान लेखी नगरपालिकाको आधिकारिक फेसबुक पेज मार्फत आह्वान गर्नु भएको हो ।
उहाँले गरेको आह्वान अनुसार उहाँपनि सो अभियानमा शनिबार सहभागी हुनुभयो । उहालाई केहि जनप्रतिनिधी र उहाँका कार्यकर्ताले साथ दिए । तर नगर प्रमुख थापा, र दमकका जनप्रतिनिधी केहि क्षण आए, बढारे जस्तो गरे अनि केहि बेर रमाईलो गर्दैै नाँचेपनि । त्यसपछि हाम्रो अन्यत्रै काम र अरु कार्यक्रम छ भन्दै विदा मागेर फर्किए । तर दमक चोक क्षेत्र सफाई गरेरै छाड्ने प्रण गरेको समुहले भने आफ्नो काम छाडेन निरन्तर चलाईरह्यो ।
खासमा यि नागरिकहरु कसैको आह्वान र आग्रहमा आएका थिएनन । दमक सबैको हो । आफु पनि यहिको बासिन्दा हुँ । बाहिरबाट आउँने अरु पाहुनाले दमकलाई आहा भनुन र त्यो आहा बनाउँने काममा मेरोपनि केहि योगदान होस भनेर हप्तामा एक दिन एक बेला मात्र भएपनि आएको दमक २ बाट यस अभियानमा सहभागी हुन आउनु भएका राजकुमार मगर बताउनुहुन्छ ।
यो अभियानको थालनी धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गराउँनु भएको हो । श्रमदान गरे मात्रै देश बन्छ भन्ने सन्देश दिदै उहाँ अहिले देशव्यापी अभियानमा लाग्नु भएको छ । जस अन्तर्गत दमकमा पनि उहाँका समर्थक जुटेका छन् । हर्कको अभियान मनपरेका कारण यो अभियानमा आएको सरसफाई अभियानमा सहभागी हुनुभएकी दमक ५ की नन्दमाया राई बताउनुहुन्छ ।
यो अभियान छैठांै साता पार गरेर शनिबार सातौं सातामा प्रवेश गर्यो । साताका सात मध्ये ६ दिन आफ्नो काम र व्यवहारका लागि र त्यसमध्ये एक दिनको त्यो पनि एक बेला चाँहि राष्ट्रका लागी भन्ने अभियान अन्तर्गत दमकमा यो अभियान चलिरहेको छ । यसको नेतृत्व गरिरहनु भएको धनजीत राई र मेघराज दुलालले यो अभियान दमकको सबै क्षेत्रमा पुग्ने बताउनुभयो । आगामी साता हंम्से दुम्से सामुदायिक वन क्षेत्रको वन बाटिका क्षेत्रमा बृहत बृक्षारोपण गरिने र त्यसपछि कुनै बिपद्को घटनामा समेत उद्धार तथा अन्य सहायताका काम गर्न सरकारले अनुमति दिएका आफुहरु त्यसका लागिपनि तयार रहेको उहाहरुको भनाइ छ । यो अभियान अन्तर्गत दमकको चोक र बजार क्षेत्रमा रहेका फोहोरले भरीएका ड्रेनको सफाई साथै अन्य सामाजिक कामहरु निरन्तर गरिने जनाइएको छ ।









