दमक, ९ साउन / ४७ वर्ष अघिबाट साहित्य लेखनमा लाग्नु भएका उहाँ सृजनायात्राका क्रममा यसबेला सबैभन्दा बढी खुसी हुनुहुन्छ । अर्थात झापा दमक ९ का साहित्यकार भूमिप्रसाद दाहाल ‘जिज्ञासु’को पहिलो कृतिका रुपमा रहेको कविता संग्रह ‘स्वप्न महल’प्रकाशनको खुसीको माहोलमा सोही संग्रहबाट उहाँले प्रस्तुत गर्नुभएको ‘टिन, फलाम, खिया, जमिन र कलम’ शिर्षकको कविता कार्यक्रममा प्रस्तुत गर्नुभयो ।
उहाँ अध्यापनरत दमक बहुमुखी क्याम्पसको नेपाली र अंग्रेजी विभागको संयुक्त आयोजनामा सोही क्याम्पसमा ०८२ सालको असार ३१ गते लोकार्पित भयो ‘स्वप्न महल’ । शासन सत्ताका सामु जहिले पनि मानिसका अधिकार, आवश्यकताहरु अधुरा हुने र विकृति विसंगतिले घर गर्ने गरेको परिवेश ‘स्वप्न महल’ जस्तै भएको चित्रण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि दमक क्याम्पसका पूर्व प्रमुख, साहित्यकार एवम् प्राच्य विज्ञान अनुसन्धान केन्द्रका संस्थापक मोहनप्रसाद भण्डारीले कृतिले समग्रमा जीवन र जगतप्रतिको वेथिती विरुद्धको विद्रोह बोलेको निर्क्यौल निकाल्नु भयो ।
कविताहरुलाई हुर्काइ बढाई परिपक्व बनाएर कृतिका रुपमा ल्याउनु भएको सन्दर्भ जोडेर उहाँका सहकर्मी प्राध्यापक एवम् साहित्यकार शिव रेग्मी प्रणतले ७ प्रकारका विषयवस्तु संग्रहमा भेटिएको सन्दर्भ एक एक पर्गेल्नु भयो । सोही क्याम्पसका प्राध्यापक एवम् लेखक बास्कोटा धनञ्जयले समीक्षात्मक टिप्पणी गर्दै अग्निहोत्रको नाभिबाट ‘स्वप्न महल’ उठेको दृष्टान्त दिनुभयो ।
कार्यक्रममा प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराईले कृतिको नवीन प्रकारको प्रयोगको सन्दर्भ उठान गर्नुभयो ।
कृतिकार दाहालका भाई अमेरिकन फिजिकल सोसाइटी डिपार्ट प्रमुख डा. हरिप्रसाद दाहालले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिकार दाहालको कृतित्व र व्यक्तित्वका बारेमा उत्साहप्रद चर्चा अघि सार्नुभयो ।
अमेरिकामा जन्मे हुर्केकी कृतिकारकी भतिजी कृष्टिना दाहालले नेपाली मायाको गीत प्रस्तुत गरेर जहाँ बसेपनि नेपालीपन र नेपालीमन कहिल्यै विरानो नहुने सन्देश दिनुभयो ।
मानविकी तथा शिक्षा शास्त्र संकायका विद्यार्थीका लागि कृति लोकार्पणको समीक्षा अवलोकन कार्यक्रमका रुपमा समेत त्यसलाई लिइएको थियो । जसमा दमक क्याम्पसका विद्यार्थीहरुको चासोपूर्ण उपस्थिति रहेको थियो । बुबा जीवनाथ दाहाल र आमा खगमाया दाहाललाई सम्मुखमा राखेर आशिर्वाद माग्दै अनि दीपकुमारीको सहयात्राको प्रेमिल उर्जामाझ संयोजन गरिएको कार्यक्रममा साहित्यकार तथा आफन्तजनको उत्साहप्रद सहभागिता रह्यो । जसको अध्यक्षता क्याम्पसको नेपाली विभागका प्राध्यापक प्रविण कार्कीले गर्नुभएको थियो ।
५९ पृष्ठमा ४१ कविता समेटिएको सो कृतिको ‘प्रकाशक’ प्रतिभा निकेतन रहेको छ । सर्जक दाहालको उपन्यास र समालोचना कृति पनि प्रकाशनको संघारमा छन् । उहाँ जीवन स्मृति प्रतिष्ठानको अध्यक्ष र प्रतिभा निकेतनको सदस्य रहनु भएको छ । २०५५ सालबाट दमक बहुमुखी क्याम्पसमा प्राध्यापन थाल्नु भएका उहाँले त्यहाँ नेपाली विभाग प्रमुख, प्रकाशन इकाइको संयोजकहुँदै हाल अनुसन्धान व्यवस्थापन इकाइको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
वि.सं.२०२२ सालमा हिलिहाङ पाँचथरमा जन्मिइ संस्कृतमा शास्त्री र नेपालीमा एमए गर्नुभएका दाहाल स्नातकोत्तर गरेको लामो समयको अन्तरालमा यसबेला विद्यावारिधी अध्ययनरत हुनुहुन्छ । उहाँले अध्ययनका क्रममा भारतमा रहँदा सन् १९८३ मा नेपाली छात्र संघ हरिद्वारबाट प्रकाशित ‘सगरमाथा’ पत्रिकामा शिक्षा निवन्धबाट लेखनयात्रा थाल्नु भयो । उहाँ कविता, कथा र समालोचना क्षेत्रमा कलम चलाएर नेपाली भाषा र साहित्यको श्रीवृद्दि र समाज रुपान्तरणको यात्रामा लागिपरिरहनु भएको छ ।









