दमक, २३ साउन । दमकका चोक र गल्लीहरूमा रंगीचंगी धागो, चमकिला मोती र डिजाइनर राखीका स्टलहरू सजिएका छन्। सडकका किनार किनारमा राखिएका स्टलमा भीड बाक्लिँदै छ, महिलाहरूले दाजुभाइका हातमा बाँध्ने राखी छानिरहेका छन्। तर, यस भीडबीच केही कुरा हराएको छ । जुन हो जनै । जनैको स्टल कतै देखिँदैन।
श्रावण शुक्ल पूर्णिमामा हिन्दू समुदायले पुस्तौंदेखि जनै फेर्ने र रक्षा बन्धन बाँध्ने चलनलाई ‘जनै पूर्णिमा’ भनेर मनाउँदै आएको इतिहास छ। तर पछिल्लो केही वर्षयता, भारतीय संस्कृतिबाट आएको राखी पर्व यस दिनको प्रमुख पहिचान बन्दै गएको छ। दमक बजारको नमुना मार्गमा राखी बेच्दै गरेका बिपिन लिम्बु भन्नुहुन्छ “विशेषगरी हिन्दू धर्म मान्ने गृहिणी महिलाहरू धेरै राखी किन्छन्, यो त अहिलेको फेसन जस्तै भइसकेको छ।“
उता, पशुपति मार्गस्थित पूजापसलमा भने सुनसान छ। पसल सञ्चालक गोपाल भट्टराई भन्नुहुन्छ “युवाहरू जनै किन्न खासै आउँदैनन्। शायद जनैको महत्व बुझ्दैनन् होला।“
दमकको पशुपति मन्दिरका पुजारी श्री प्रसाद पौडेलको धारणा अझै गहिरो छ ।“भारतीय नागरिक नेपाल आउन थालेपछि उनीहरूको संस्कार पनि सगै आयो । त्यसको नक्कल गर्दै यहाँका युवापुस्ताले राखी लगाउन थाले ।
तर, भाषा तथा संस्कृतिका अध्येता शिव रेग्मी भन्नुहुन्छ “रक्षा बन्धन केवल आयातित संस्कृति मात्र होइन, नेपाली परम्परामा पनि यसको जरा छ। तर अहिले मनाउने तरिका गलत बन्दै गएको छ। युवाले अहिले जनैको महत्व नबुझेपनि, समयसँगै त्यसको अर्थ बुझ्नेछन् भन्ने विश्वास छ।“
विदेशी संस्कृतिको असरलाई आत्मसात् गर्दा आफ्नै मौलिकता हराउने खतरा बढ्दै गएको प्रती चिन्ता बढ्न थालेको छ । जनै पूर्णिमाजस्तो मौलिक पर्व केवल धार्मिक विधि मात्र होइन, नेपालकै सांस्कृतिक पहिचान हो।
 
								 
								 
								 
											 
								 
								 
								 
								 
								 
								 
								








