काठमाडौं– अमेरिकी सहायता परियोजना (एमसीसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा आज प्रदर्शन गरिएको छ। बिरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
उता, स्वतन्त्र नागरिक समाजको आयोजनामा आज अनामनगरबाट सुरु भएको मोटरसाइकल र्यालीले माइतीघरमण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो।
र्याली एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्यालीका सहभागीले ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए।
सरकारले आज संसद्मा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्। पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण आज राजधानीको यातायात सेवा प्रभावित भएको छ।