दमक, ५ भदौ । कुशे औँसीको अवसर पारेर दमक–६ स्थित सूर्यर्दशन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई छाता प्रदान गर्दै सम्मान गरेको छ। कार्यक्रमको सुरुवात सबैभन्दा ज्येष्ठ ९६ वर्षीय गौरीकान्त पोखरेल बुबालाई विशेष सम्मान गर्दै गरिएको थियो।
कार्यक्रममा सहकारीका पदाधिकारीहरूले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, योगदान र समाजमा अनुभव प्रदान गर्ने भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान गरको थियो । वडाध्यक्ष, सहकारी पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा सम्मानित बुबालाई छाता वितरण गरिएको थियो। कार्यक्रममा विभिन्न रमाइलो गीतसंगीत र सांगीतिक प्रस्तुतीले वातावरणलाई अझ उत्साहपूर्ण बनाएको थियो।

सम्मानित एकजना जेस्ठ नागरिक भन्नुहुन्छ “कतिपय ज्येष्ठ नागरिकलाई घरमा राम्रो गरी सम्मान गरिँदैन। तर यहाँ सहकारीबाट सम्मान पाउँदा धेरै खुशी लाग्यो। सहकारीको प्रगति होस् र यसरी नै ज्येष्ठ नागरिकलाई सम्मान गरिरहोस्।
कार्यक्रमका प्रमुख अतिथी रहनु भएका दमक नगरपालिका वार्ड नं ६ को वार्ड अध्यक्ष टेकबहादुर थापाले समाजमा बुबा–आमाको योगदान अपरिहार्य रहेको बताउनु भयो। “बुबा–आमा हाम्रो जिउदो देवता हुन्। घरमा उनीहरूको सेवा गर्नु नै ठूलो धर्म हो। तर अहिले ज्येष्ठ नागरिकहरूको कुरा सुन्ने साटो धेरैजसो युवा मोबाइलमा व्यस्त छन्। सुन्दर समाज निर्माण गर्न, उनीहरूको अनुभव सुन्ने र लागू गर्न आवश्यक छ।” उहाँले बताउनु भयो ।
सहकारीका अध्यक्ष टिका राज सापकोटाका अनुसार संस्थाले विगत १२ वर्षदेखि कुशे औँसी र मातातिथीको अवसर पारेर ज्येष्ठ नागरिक सम्मान गर्दै आएको छ। यस वर्ष पनि हाम्रो हलमा छोटो भए पनि उनीहरूको खुशीको लागि र सम्मान व्यक्त गर्न यो कार्यक्रम आयोजना गरिएको हो । यसले सदस्यहरूलाई संस्था प्रति प्रबिद्धता पनि बढ्ने उहाँको बिश्वास छ ।
कार्यक्रममा सम्मानित ज्येष्ठ बुबाले सहकारीको यो पहलले आत्मिक खुशी दिएको प्रतिक्रिया दिनु भएको छ । सहकारीले समाजमा अनुभव र मूल्य प्रदान गर्ने ज्येष्ठ नागरिकहरूलाई सत सम्मान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।










