दमक, भदौ १० । भाद्र शुक्ल तृतीयाका दिन मनाईने हरितालिका तीज पर्व धुमधामसँग मनाईएको छ । भगवान् शिवको आराधना, व्रत, नाचगान र भेटघाटसहित मनाइने तीज अब परम्परा र परिवर्तनको समिश्रण बनेको छ ।
पुराना पुस्ताका महिलाहरूका लागि तीज भनेको ‘आफ्नो मनको पीडा पोख्ने अवसर’ थियो। समाजमा असमानता, दमन र चर्काे कामको दबाबबीच माइती फर्किएर आफ्ना दिदीबहिनी र साथीसँग दुःख साटासाट गर्ने चाड थियो तीज ।दमक ५, धनेश्वर चोककी ७२ वर्षीया सरस्वती खड्का यस्तै अनुभूतिहरू सुनाउनुहुन्छ ।
तीज पर्व नेपाली समाजमा महिलाको जीवन, संस्कृति र सामाजिक परिवर्तनसँग गासिएको गहिरो अध्याय हो । यो पर्वको ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्वलाई हेर्ने हो भने यसले केवल धार्मिक आस्था मात्र बोकेको छैन । समाजको रूपान्तरण, महिलाको अधिकार, शिक्षा र आत्मनिर्भरतालाई पनि प्रतिविम्बित गरेको छ।
परम्परागत तीजमा दर खाने प्रथा घर–घरमा सीमित हुन्थ्यो । दिदी–बहिनी, छोरीलाई माइतीले बोलाएर दर खुवाउने गर्थे । आज यो संस्कार नयाँ रूपमा विस्तार भएको छ । महिलाहरू साथीभाइ भेला भएर होटल र रेष्टुरेन्टमा दर खान जान्छन् ।
फरक–फरक पेशामा संलग्न महिलाहरू व्यावसायिक पोशाकमै भेटिन्छन् । दर खान्छन् र रमाइलो गर्छन् । यसरी तीज अब घरको चारदिवारभित्र मात्र नभई सामाजिक जमघट र सहकार्यको पर्व बनेको छ ।
यसले समाजमा महिलाको आत्मविश्वास र सामाजिक उपस्थितिलाई झनै प्रकट गराएको छ।अहिले तीज मनाउने तरिकामा पनि आ–आफ्नै छ ।दमक ५ कि अर्चना न्यौपाने समाजमा महिलाहरु आत्मनिर्भर बन्दै गएपछि यसको मनाउने शैलि पनि फरिएको धराणा राख्नुहुन्छ ।
समयसँगै समाज अघि बढ्दै गयो । शिक्षा र चेतनाको विस्तारसँगै महिलाको स्थिति पनि क्रमशः परिवर्तन भयो । विद्यालय, विश्वविद्यालय र रोजगारीमा महिलाको सहभागिता बढ्दै गयो । महिलाले आत्मनिर्भर बन्ने अवसर पाए । अहिले महिलालाई तीज पर्वमा माइती घरमा गएर मात्र दर खानुपर्छ भन्ने छैन ।
साथीसङ्गी, विभिन्न सङ्घ÷संस्थाभित्र पनि आ–आफ्नौ मनका कुराहरु आदानप्रदान गर्ने गर्दछ । नाच्ने, गाउँने र रमाइलो गर्ने गर्छन् । यस परिवर्तनले तीज मनाउने शैलीमा ठुलो प्रभाव र्पायो। यसले समाजमा बिकृति भने बढाएको धारणा राख्नुहुन्छ दमकको धनेश्वर मन्दिरमा भेटिनुभएकी खिना गौतम ।
तीज पर्वलाई परापूर्व कालमा माइती मिलनका रूपमा लिइने भए पनि अहिले तीज मनाउने शैली मनाउने फेरिएको छ । आसपी भेटघाट खुशी हुने रमाउने गरिन्छ । तीज पर्वको संस्कृतिलाई बचाई राख्न यसका राम्रा पक्षलाई अगाल्दै विकृतिलाई हटाउँदै मनाउन जरुरी छ।









