चुनाव हुने कुरामा ढुक्क हुनुहुन्छ ? चुनाव केन्द्रीत प्रशिक्षण एवम् अभिमुखीकरण कार्यक्रम गरिसक्नुभयो नि !
हामी आज नेपाली समाजले प्राप्त गरेको राजनीतिक प्रणालीमा मात्र होइन, आफ्नो पार्टीको आन्तरिक जीवन व्यवस्थापनमा पनि लोकतान्त्रिक अभ्यासबाट सिक्दै र अभ्यस्त हुँदै विकासोन्मुख हुन चाहने राजनीतिक पार्टीका राजनीतिक कार्यकर्ता र राजनीतिककर्मी । अर्थात् लोकतन्त्रका अक्षुण्य पक्षपाती र हिमायति । लोकतन्त्र भनेको जनसहभागिता सुनिश्चित शासन व्यवस्था हो । जनसहभागिताको आधार भनेको जनअभिमत हो । जनअभिमत प्रकट हुने थलो भनेको चुनाव हो । यसले जनताप्रति पूर्ण उत्तरदायी शासन व्यवस्थाको परिकल्पना गर्छ । हाम्रो संविधान र संवैधानिक प्रावधानअनुसार यो आवधिक रूपमा भइरहनुपर्छ ।
संविधानतः यतिबेला स्थानीय तह निर्वाचनको समय सीमा पूरा हुँदै गएको छ । यसलाई अद्यावधिक गर्न अर्थात् नवीकृत राज्यसत्ताको स्वरुप हस्तान्तरण गर्न हामीले एकस्वरमा चुनाव भनेको थियौं । सुरुका दिन सत्तापक्षीय शक्ति आनाकानीमा थियो । फलतः व्यापक स्तरमा चुनावका लागि दवाव सिर्जना गर्नु परेको थियो । यो दवावस्वरुप चुनावको मिति घोषणा भयो । अब चुनाव हुन्छ भन्ने विषयमा हामी ढुक्क छौं । हामी यसअनुरुप नै सम्पूर्ण रूपले चुनावको तयारीमा लागेका छौँ । यसैको प्रारम्भिक संकेत थियो विराटनगरमा सम्पन्न– चुनाव केन्द्रीत प्रशिक्षण एवम् अभिमुखीकरण कार्यक्रम ।
गठबन्धनकै महाभियोग प्रस्ताव र एमसीसी प्रवेशको मुद्दाले चुनावलाई बिथोल्ने त होइन ?
दैनन्दिन राज्य सञ्चालनका सन्दर्भमा आइलाग्ने कतिपय विषयवस्तुहरू र आवधिक रूपमा गर्नुपर्ने चुनावलाई एकैसाथ बुझ्न हुँदैन र हामी जिम्मेवार राजनीतिक पार्टीका जिम्मेवारहरूले बुझ्नु वाञ्छनीय पनि हुँदैन । महाभियोग प्रस्ताव र एमसीसी प्रवेशको मुद्दा सत्तापक्षले अघि सारेको तत्कालको कार्ययोजना कार्यान्वयनको कुरा हो भने चुनाव गर्नु भनेको संवैधानिक कार्यदिशा निर्देशित अंशको कार्यान्वयनको कुरा हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई गतिशील जीवन प्रदान दीर्घकालीन महत्त्वको विषय हो । यद्यपि, यसबीचमा यो महाभियोगको प्रस्ताव छापामार शैलीमा किन आयो ? अहिले नै महाभियोग प्रस्ताव आउन जरुरी थियो त ? यसभित्रको राजनीतिक अन्तर्य के हो ? आवेग आएर आक्रोश पोख्ने मात्र भन्दा पनि गठबन्धनसत्ताका गतिविधि र विकसित घटनाक्रमलाई नजिकैबाट पढ्दै छौँ ।
एमसीसीको विषय आजको नयाँ विषय होइन । यसलाई धेरै चर्चामा ल्याउन जरुरी छैन । यद्यपि, अनावश्यक विषयलाई चर्चा–परिचर्चा र बहसमा ल्याएर मूल विषयलाई ओझेल पार्ने खतरा पनि हुन्छ कहिलेकाहिँ । तपाईंले भन्नुभएझैँ बन्दै गएको चुनावी वातावरणलाई बिथोल्न फेसो हाल्ने काम पनि हुनसक्छ, हलो अड्काउने र गोरु पड्काउने नियत पनि हुनसक्छ र कुनै न कुनै शीर्षकअन्तर्गत प्राविधिक बहाना पनि विकास हुनसक्छ । यसतर्फ भने हामी सबै संवैधानिक शक्तिहरू चनाखो र सतर्क रहनैपर्छ । व्यक्तिगत रूपमा मलाई चाहिँ के लाग्छ भने लोकतन्त्रप्रति विश्वास गर्ने जसकसैले पनि चुनावबाट भाग्न र पन्छिन मिल्दैन । चुनाव सबैलाई चाहिएको छ । अरुको त कुरा नगरौँ– नेपाली काँग्रेस, जसले गठबन्धनको नेतृत्व गरेको छ, ऊ यो देशको सबभन्दा पुरानो र लोकतान्त्रिक पार्टी हो, उसले लोकतान्त्रिक अभ्यासको घाँटी निमोठ्न सक्दैन ।
चुनाव भएन भने के हुन्छ ?
हामीले त्यो परिकल्पना गरेकै छैन । चुनाव हुन्छ, हुन्छ । पासोमा परियो भने के हुन्छ भने प्रश्नको कुनै उत्तर हुँदैन । म सकारात्मक परिवर्तनको पक्षपाती हो, नकारात्मक सोच्दिनँ ।
एमसीसी आज टेबुल हुँदैछ । तपाईंहरू के गर्नुहुन्छ ? यससम्बन्धी एमालेको धारणा के हो ?
एमसीसी सत्तापक्षको बिजनेस हो । टेबुल गर्ने नगर्ने उसको विषय हो । एमाले सत्तामा भएको के गथ्र्यो ? त्यो विषय बन्नसक्छ । तर अहिले एमाले प्रतिपक्षमा छ । एमसीसीबारे सत्तापक्षको धारणा बाहिर आउनुपर्छ । हामीले एमसीसीलाई संसदीय महत्त्वको विषयवस्तु बनाइनु हुँदैन, यसको परियोजना स्थल नेपाली सेनाकै निगरानीमा हुनुपर्छ र लगानी नेपाल सरकारको प्रचलित व्यवस्थाअनुसार हुनुपर्छ भनेकै छौँ । हाम्रो कुरा यहिं हो ।
एमाले अध्यक्ष ओलीका कारण भाग खान पुगेन, मानसम्मान भएन, राज्यको स्रोत दोहन गर्न मिलेन, सुविधा र अवसरको बाँडफाँड आफूअनुकूल भएन भनेर बामपंथी राजनीतिबाट बाटो बिराएका निर्लज्ज व्यक्तिहरू सरकारमा छन् । एमसीसी टेबुल मात्र होइन, पास पनि गर्छन् । अदालतको परमादेशमार्फत बनेको गठबन्धन नाउँको अपवित्र मिलन नै यसैका लागि हो । एमसीसीप्रति उहाँहरूको फरक मत भए एमसीसी पास गराउन चाहने राजनीतिक दलसँग उहाँहरूको सहकार्य हुने थिएन, सरकारमा अल्झिने थिएनन् । उहिल्यै सरकारबाट बाहिरिएका हुन्थे नि ! एमसीसी आए गठबन्धन फोर्छौं वा छाड्छौं भनेको त गठबन्धनभित्रको शक्ति सन्तुलन र स्वार्थ समुहबीचको भागबण्डाका लागि बार्गेनिङ मात्र हो । यसमा एमालेलाई मुछ्न जरुरी छैन । संसदीय गणितभित्र पनि एमालेबाहेक उहाँहरू बहुमतमा हुनुहुन्छ । किन चाहियो एमाले ?
एमसीसीले गठबन्धनभित्र बढाएको अन्तरविरोधका कारण राजनीतिक समिकरणमा फेरबदल हुने हल्ला छ नि !
यो सबै खपतको कुरा मात्र हो, सम्पूर्ण रूपले हावादारी कुरा हो । यसमा कुनै सत्यता छैन । एमसीसीले गठबन्धनभित्र अन्तरविरोध होइन, झन् प्रगाढ अन्तरसम्बन्ध बढाएको छ । हिजोसम्म बरु मर्न तयार तर संसदमा टेबुल हुन दिन्नँ भन्ने सभामुख सापकोटा अहिले टेबुल गर्छु, म त खेलमैदानको अम्पाएर मात्र हुँ भन्न थालेका छन् । यो बढेको अन्तरविरोध हो कि अन्तरसम्बन्ध ? एमसीसी टेबुल गर्ने कि नगर्ने ? पास गर्ने कि नगर्ने ? तिनका हातमा छ । यसकै भाग खान जम्मा भएका छन् । अनि फतुरा कुरा गर्नुको कुनै खास अर्थ हुन्छ र ?
के हो यो समिकरणमा फेरबदल भनेको ? एमालेले आफ्नो कण्डिसन स्पस्ट पारेको छ । यो माधव नेपाल नेतृत्वकालको एमाले होइन । राजनीतिक–बैचारिक हिसावले सुदृढ एमालेलाई जनमत बिनाको सरकार सञ्चालन र साझेदारीको कुनै अतिरिक्त मोह छैन । एमालेको आफ्नो राजनीतिक अडान छ, बैचारिक कार्यक्रम र कार्यदिशा छ । एमालेले कमाएको चुचे नक्शा नामेट पारेर अदालतको बलमा प्रभुभक्ति गाउने शक्तिसँग एमालेको कुनै समिकरण कहिल्यै बन्दैन । एमाले एक्लै लड्छ, भिड्छ र जनादेशसहित सरकारको नेतृत्व लिन्छ । त्यो दिन नजिकै छ ।
अघि नै भनियो– गठबन्धनमा संलग्न राजनीतिक दलका माथिल्लो तहका नेतालाई समेत थाहै नदिइकन यो महाभियोगको प्रस्ताव यतिबेला एकदमै छापामार शैलीमा किन आयो ? सत्तापक्षबाटै महाभियोग प्रस्ताव आउन जरुरी थियो त ? यसभित्रको राजनीतिक स्वार्थ के होला ? आवेग आएर आक्रोश पोख्ने मात्र भन्दा पनि गठबन्धन नाउँको स्वार्थ समुहका गतिविधि र विकसित घटनाक्रमलाई नजिकैबाट सुक्ष्म ढंगले अध्ययन गर्ने क्रममा छौँ । महाभियोगका हतियार बनाइएका प्रधानन्यायधीसलाई यतिबेला एमालेले बोक्नु, उचाल्नु र थेचार्नु केही छैन । यद्यपि, काउण्टर दिन सकिन्छ तर यसले बन्दै गएको चुनावी माहौललाई बिथोल्ने र बिगार्ने हो कि ! भनेर उत्तिकै जिम्मेवारीबोध गर्न आवश्यक छ, सजगता र उच्च सतर्कता अपनाउन जरुरी छ । यतिबेला चुनाव नहुनु भनेको बामे सर्दै अघि बढेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्नु हो, सक्नु हो । गठबन्धनले चाहेकै त्यो नै हो भने सभामुखविरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याइरहँदा परिस्थिति झन् प्रतिकूल ढंगले विकास हुनसक्छ । हामी शान्त तलाउमा ढुंगा हानेर तरंग ल्याउन र क्रमशः धमिलिँदै जाने पानीमा माछा मार्न चाहन्नौँ ।
उसो भए अब एमालेको गन्तव्य भनेको चुनाव मात्र हो त !
हो, यतिबेला हामीले चाहेको चुनाव मात्र हो । चुनाव भनेको राजनीतिक दलहरूको मापन र हैसियत निर्धारण पनि हो । हामी एमलेजन आफ्नो हैसियतको मापन र निर्धारण गर्न चाहन्छौँ । एमाले कसैको आशीर्वाद लिएर होइन, चुनावमार्फत प्रकट हुने जनअभिमत लिएर हिजो थालनी गरिएका अधुरा अपुरा कार्यभारहरूलाई पूरा गर्न दृढ संकल्पित छ । समृद्ध नेपाल ः सुखी नेपाली निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादको रोलमोडल तयार गर्न आतुर छ ।
एमालेलाई चुनावमा जाने र जनमत लिने आधारहरू के–के हुन् ?
एमाले संविधानको पूर्णतः परिपालना गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनअपेक्षाअनुरुप समृद्धिको तहमा कार्यान्वयनमा ल्याउन राजनीतिक–बैचारिक हिसावले प्रतिवद्ध छ । हिजो एमाले सरकारको नेतृत्वमा गरेका राम्रा कामहरू र थालनी गरिएका राम्रा कामहरूप्रति जनताको मत अभिमत निर्वाध ढंगले प्रकट भएको छ । चुनाव मात्र भइदिए भोट हाल्न त हामीले जानेका थियौं नि भन्ने जनताको रहर र लहर दुबै दिनानुदिन बढेको छ । हिजो जारी गरिएका तहगत सबैजसो घोषणापत्र लिएर हामी जनतामा जान्छौं, यसबीचमा यति गर्न सकियो, यति गर्न बाँकी छ, बाँकी प्रतिबद्धताहरू पूरा हामीलाई काम गर्ने र तपाईं मतदाताको सेवा गर्ने अवसर दिनुस् भन्छौँ । चुनावपछि हामी एक नम्बर बन्छौं । हाम्रा नीतिगत मान्यता र कार्यक्रमका कारण जनउभार उघ्रिएको छ, जनतम एमालेको पक्षमा उर्लिएको छ ।
कम्युनिष्ट पार्टीहरू चुनावताका एक हुन्छन् पनि भन्छन् नि !
अर्को हाँसोको श्रृंखला आरम्भ गर्नु मात्र हो यो । को हो कम्युनिष्ट ? को हो गैरकम्युनिष्ट ? झण्डा उस्तैउस्तै लाग्दैमा कम्युनिष्ट हुन्छ र ? धनबहादुर भनिने मानिस गरीब, कमजोर हुन सक्दैन ? आफ्नो नेतृत्वको सरकार ढालेर राजनीतिक प्रतिद्वन्द्वी मानिएको शक्तिसँग शरण पर्न जाने, प्रधानमन्त्री बनिदेउ भनेर धुपधुँवा गर्ने धन्धुकारीहरू कम्युनिष्ट हुन्छन् ? न मुद्दा, न मिसन ! किन कुनै कम्युनिष्ट नामधारीसँग एक हुनु ? यो कहिल्यै सम्भव छैन र हुँदैन ।
मिल्नु भएन भने कम्युनिष्टले कम्युनिष्टलाई नै हराउन सक्ने स्थिति बन्दैन चुनावमा ?
बन्दैन । चुनावसम्म आधारभूत तहका कम्युनिष्टहरू एमाले भइसकेका हुन्छन् । रहेबचेका दुर्गन्धपूर्ण केही मानिसको कुनै प्रभाव छैन । मतदाताले राम्रोसँग बुझेको छ । कसैमा हराउन सक्ने तागत राखेको भए सुतेका बुढानिलकण्ठलाई जगाउने थिएनन् । काँग्रेसले भनेको छैन, आफू स्वयं गठबन्धन कायम रहन्छ भन्ने थिएनन् । एमालेलाई हराउने तागत कसैसँग छैन । एमाले मतदाताको मनमस्तिष्कमा छ ।
चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?
हामी व्यक्तिमा होइन, मुद्दामा केन्द्रीत छौँ । हामीकहाँ नेतृत्वको खडेरी छैन, निर्विकल्प कोही छैन । विषयविज्ञ र सम्भावित तमाम उम्मेदवार नेता कार्यकर्ताबीच राजनीतिक–बैचारिक दिशाबोधका हिसावले गर्न सकिने कामहरूका सन्दर्भमा गहिरो अध्ययनमनन र गहन बिचारविमर्शमा छौँ । यसबीचमा हामीले के गर्न सक्यौं, के गर्न सकेनौं । किन गर्न सकेनौँ ? जवाफ तयार गर्दैछौँ । परिवर्तित सन्दर्भमा गर्नुपर्ने कामका आधारभूत मुद्दाहरू के–के हुन् ? सुक्ष्म ढंगले पहिचान गर्दैछौं । यहाँको वस्तुगत विशेषता र आवश्यकताका आधारमा सामाजिक–आर्थिक समृद्धिको परिकल्पनाको चित्र कोर्दैछौँ । समृद्ध सांस्कृतिक सहचार्यको आधारशीला के हुनसक्छ ? किन एमालेको अपरिहार्यता ? यसलाई पुष्टि गर्ने तयार गर्दैछौँ ।
एमालेले पठाएको जनप्रतिनिधिले नेतृत्वको उपस्थिति र भूमिका कस्तो रह्यो ?
भरखरै सम्पन्न अभिमुखी कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई सुन्दा– यसबीचमा गाउँ–गाउँमा बाटाघाटाको सञ्जाल, पुल, कल्भर्ट, झोलुंगे पुल, नदीकटान रोकथाम तटबन्धन, अधिकांश पालिका र वडा कार्यालय भवन, मठमन्दिर, सामुदायिक विद्यालय भवन, गुम्बा र मदरसा, सिमसार पर्यटकीय क्षेत्र, सांस्कृतिक स्थल संरक्षण र सम्पदा, सामुदायिक भवन, संग्रहालय, जनता आवास कार्यक्रमअन्तर्गत घर, शीतभण्डार, प्राविधिक विद्यालय, धार्मिक सांस्कृतिक पर्यटकीय क्षेत्र, रंगशाला, ज्येष्ट नागरिक चौतारी, बालउद्यान केन्द्र, कवर्ड हल, व्यायामशाला निर्माण भएका छन् भने धिमाल समुदायको संग्रहालय, लोपोन्मुख सन्थान जाति सांस्कृतिक संग्रहालय, आधुनिक वधशाला, आधुनिक कृषि तथा सागसब्जी बजारस्थल, नमुना विद्यालय, खेल मैदान भएका छन् । सामुदायिक विद्यालयहरूमा बालबालिका दिवा खाजा कार्यक्रम, प्रसुति खर्च सहयोग कार्यक्रम, भूमिहीन सुकुम्बासीको पहिचान, फोहोरमैला व्यवस्थापन कार्यक्रम, खरको छाना विस्थापन कार्यक्रम, अँध्यारोमुक्त अभियानअन्तर्गत निशुल्क विद्युत जडान भएका छन् ।
स्थानीय सरकारले पूरै ५ वर्ष काम गर्न पायो । स्थानीय तहलाई सरकार गठन, विघठन र फेरबदलको असजिलो छैन । ढुक्कसँग गर्नुपर्ने र गर्न सकिने धेरै अवसर र आधारहरू थिए । यी माथिल्ला पूर्वाधार विकास र भौतिक निर्माणको क्षेत्रमा धेरै काम भए पनि मानव विकासको क्षेत्रमा अपेक्षाकृत भएन । यो पहिलो कार्यकाल भएर पनि हुनसक्छ, अब गति लिइन्छ ।
कस्ता व्यक्तित्वलाई उम्मेदवारको रूपमा अघि सार्छ एमालेले ?
पहिलो कुरा त हाम्रो पार्टीमा व्यक्ति उम्मेदवार होइन, पार्टी आफैं उम्मेदवार हुनेगर्दछ । व्यक्ति जसजसले चुनाव जितेका छन्, सूर्य चुनावमा चिन्हमा खसेका मतका कारण जितेका छन् । व्यक्ति त एउटा प्रतिनिधिपात्र मात्र हो । यद्यपि, म वा मेरा कारणले चुनाव जितेको भन्ने अनुचित् दम्भ र घमण्ड पनि यदाकदा पोखिएको पाइन्छ । यो फगत बालपनबाहेक केही होइन । मबाहेक कसैले चुनाव जित्दैन भन्ने मानिसले परीक्षामा सामेल भए हुन्छ । होइन भने हामी सबैले पार्टी मातहत बस्न, बाँच्न र रमाउन सक्नुपर्छ ।
विगतमा टिकट नपाउञ्जेल साँझ–बिहानै नेतृत्वको घरमा धाउने र जनप्रतिनिधिको रूपमा विजयी भएपछि अर्को चुनाव नआउञ्जेलसम्म झण्डै वास्तै नगर्ने पात्रवत् प्रवृत्ति पनि देखियो हामीकहाँ । जीवन्त पार्टीको सम्पर्कमा रहने र पार्टी नेतृत्वलाई सल्लाह–परामर्शमा राख्ने राजनीतिक संस्कार समेत देखिएन कतिपय बेला र सन्दर्भमा । अब भने पार्टी संगठनमा उल्लेख्य योगदान गरेको, पदमा रहँदा वा नरहँदा कम्युनिष्ट आचरणयुक्त, राजनीतिक पार्टीप्रतिको इमान र निष्ठालाई बचाउने, पार्टीले अघि सारेका नीति–कार्यक्रमलाई अघि सार्ने र कार्यान्वयनमा ल्याउने, पार्टीलाई जनमनमा स्थापित गराउन सक्ने, असाध्यै सरल र सादगी दिनचर्यामा बाँच्न सक्ने, सामाजिक रूपमा उघ्रिएको पारदर्शी राजनीतिक जीवनलाई अघि सारिन्छ । यद्यपि, अहिले नै यस्तो कुनै मापदण्ड बनाएर उम्मेदवार छान्ने बेला भएको छैन ।
तपाईंको पालिका कुन हो ? एकजना आकांक्षी हो तपाईं हो ?
पथरी शनिश्चरे नगरपालिका निवासी एकजना मतदाता म पनि हुँ । आज प्राप्त मेरो जिम्मेवारीका हिसावले मैले आफ्नो पालिकाको मात्र होइन, जिल्लाकै चुनावी अभियान सम्हाल्नुपर्छ । जे–जे हुन्छ, निर्णय पार्टीले गर्छ । पार्टीमा मभन्दा योग्यतम् नेताहरू एकसेएक हुनुहुन्छ, दर्जनको संख्यामा छौँ हामी यस्ता पात्रहरू ।
भन्न मिल्छ– अबका प्रतिबद्धताहरू के–के हुन् त ?
किन नमिल्ने ? मैले अघि नै भने– धेरै विषयवस्तुहरू अधुरा–अपुरा शीर्षक कार्यान्वयनमा हाम्रो शक्ति केन्द्रीत हुनेछ । किनभने अब आउने नेतृत्व भनेको पछिल्ला नेतृत्वको निरन्तरता हो । योबाहेक अब हामी मूलतः मानव विकासका एजेण्डामा केन्द्रीत हुने र नीतिगत भ्रष्टाचारलाई निषेध गर्ने, भौतिक निर्माण र पूर्वाधार विकासको क्षेत्रमा गरिएका कामको गुणस्तरियता दिने, यहाँको जमिनसम्बन्धी समस्या र सुकुम्बासी बसोबासको मुद्दाउपर समाधानको आधार तयार गर्ने, प्रत्येक समुदाय आधारित शिक्षा र स्वास्थ्यमा जागरण ल्याउने, लोपोन्मुख समुदायको भाषा संरक्षण, तिनको लिपी उत्खनन, संस्कार–संस्कृतिको खोज अध्ययन अनुसन्धान गर्ने, स्थानीय वस्तुको उत्खनन्, सूचना, ज्ञान र चेतना विकास, प्रवर्धन र तदनुरुप संगठनको क्षेत्रमा आधार तयार गर्ने, मानव संशाधन विकास र समृद्धि आर्जनको पक्षमा आधार तयार गर्ने, वर्षेनी तयार हुने पढालेखा बहुसंख्यक युवाशक्तिको खपत र व्यवस्थापनका लागि रोजगारमुखी कार्यक्रमहरू सञ्चालनमा ल्याउने, कृषिलाई निर्वाहमुखी मात्र होइन, लाभार्जनमुखी बनाउने, यसका लागि आधुनिक प्रविधि हस्तान्तरण गर्ने, कृषिमा क्रान्तिमा ल्याउन आवश्यक मात्रामा सहुलियत दिने, उत्पादन र उत्पादकत्व बढाउने, उत्पादित वस्तुमार्फत लाभ लिन, मुनाफा कमाउन कृषि–कषकमैत्री बजार र बजार भाउ निर्धारणको आधार तयार गर्ने, बाली विज्ञानलाई व्यापक स्तरमा प्रयोगमा ल्याउने र समुदायलाई लाभावान्वित तुल्याउने काम गर्नुपर्छ ।