उत्तरपूर्वी मोरङको पथरीबाट मैले पत्रकारिता सुरु गरेको ५ वर्षपछि ०५७ सालमा मलाई नेपाल समाचारपत्र दैनिकले दमकको रिपोर्टिङका लागि पठाएको थियो । त्यो बेला दमकको रिपोर्टर स्वागत नेपाललाई पत्रिकाले केन्द्रीय कार्यालयमा बोलाएर उहाँको ठाउँमा मलाई पठाइयो । मैले पत्रकारिता सुरु गरेको ब्लाष्ट टाइम्स दैनिकमा पनि दमक गएर संगसंगै समाचार लेख्थें । त्यो बेला राष्ट्रियस्तरको दैनिक पत्रिकामा दमकबाट समाचार लेख्ने म मात्र थिएँ । केही पछि स्पेशटाइम दैनिकमा गोपाल गड्तौला जीले सुरु गर्नुभयो । पछि नेपाल समाचारपत्रमै टीकाराम नेति, रमेश पोखरेल, राजधानी दैनिकमा कृष्ण कार्कीहुँदै कान्तिपुर दैनिकमा सरस्वती कार्की थपिनु भयो । गोरखापत्रहुँदै पछि कान्तिपुरमा चेतन अधिकारी र गोरखापत्रमा टीकाराम उप्रेतिको आगमन भयो । सबैभन्दा पुराना पत्रकार गञ्जबहादुर दाहाल, विष्णु सुब्बा, विष्णु पोखरेल, गोपाल झापालीहरुको सक्रियतासंगै अरु पनि थपिदै गए । पत्रकार मञ्च दमक स्थापना गरियो । त्यो बेला विशेष भण्डाफोर गर्नुपर्ने अवस्थामा सबै पत्रकार साथीहरु सल्लाह गरेर सामुहिक रिपोर्टिङ गर्ने र एकैदिन समाचार प्रकाशन गरेर त्यस्ता पक्षको दबाब कम गराउन अनि विकृति हटाउने काममा सामुहिक शक्तिको प्रयोग निकैवटा समाचारमा गरिएको थियो । त्यो हिसाबको एकताबाट दमकको पत्रकारिताले देशमै फरक पहिचान बनाएको थियो । त्यो लोभलाग्दो पक्ष अहिलेको अवस्थामा खोज्दा पाउँन मुस्किल छ ।
आवश्यक पर्दा यसखाले सामुहिक कर्मसहितका पत्रकारिताका धर्म निर्वाह गर्ने क्रममा मैले दमकसंग जम्माजम्मी १५ वर्ष प्रत्यक्षरुपमा बिताएको छु । मैले रिपोर्टिङ गरेर समाचार पठाउने बाहेक समयखण्डमा सप्तरंगी एफएम, पिपुल्स टाइम्स दैनिक, पूर्व सन्देश दैनिकमा र पछिल्लो पटक उज्यालो खबर अनलाइनमा समाचार सम्पादनको भूमिकामा रहें । ०६८ सालपछिको १ वर्ष दमकको छिमेकी उर्लाबारीमा राष्ट्रिय समाचारपत्र दैनिक र इटहरामा रेडियो सुनाखरीमा पनि समाचार सम्पादनको काम गरें । अनि साहित्य समाज उर्लाबारीमा ‘सृजना अनुशीलन’को यात्रामा जोडिएँ ।
साहित्य र कलाकारिता पनि दमकमा संगसंगै लगियो । त्यही बीचमा ०६० सालमा शान्तिको सन्देश प्रवाह गर्न मानव अधिकार शिक्षा रेडियो स्रोता क्लबसंगको सहकार्यमा कञ्चनजंघा नाट्य समूह पथरी शनिश्चरेबाट ‘शान्ति’ नामक नाटक लिएर त्यसको निर्देशन गर्दै मेचीमहाकाली सडक नाटक यात्रा निकै चुनौतिकाबीच पूरा गरिएको थियो । देशमा १४ स्थानमा नाटक मञ्चन गर्दै ऐतिहासिक यात्रामा सामेल भइयो । दमकसंग जोडिइरहेको अवस्थामा पूर्वाञ्चल गजल मञ्चको संस्थापक भएर पूर्वमा गजल विस्तारको अभियानमा पनि सामेल भइयो । दमककै पहिलो संस्थागत नाट्ययात्रा ‘गन्तव्य थिएटर’मार्फत विशेषगरी कचहरी नाटक प्रस्तुत गरेर मीठो अनुभूति संगाल्न पाइयो । ती पलहरु प्रकाश आङ्देम्बे, सुवास खरेल, ममता बुढाथोकी, टंक टाइगर, जीवन बराल, कला संग्रौला, प्रिया दास, देवी उप्रेती, किरण चाम्लिङ, अहिले अमेरिकामा रहेका दिलन समाललगायतले समेत स्मरण गरिरहेका छन् । त्यो भन्दा अघि मेरो साहित्यको कखरा दमकसंगै जोडिएर अघि बढेको थियो । आचार्य प्रभा र केशव आचार्यले आफ्नो घरको कोठामा थालेको कोठे साहित्यिक यात्रा सम्झिन्छु । अनि साहित्य कला संगमका कार्यक्रमहरु समेत लेखनयात्राका सुरुवाती पाठशाला थिए ।
पत्रकारितासंगै सृजनाका यसखाले यात्रामा निरन्तर छु । दमकलाई सृजनशील बनाउने कुरामा यसअघि भएका मूल्यांकनलाई समेत स्मरण गरेर पछिल्लो पटक नेपाल लाइब्रेरी फाउण्डेशन् नेपाल झापा शाखाले सम्मानित गर्दै दमकप्रतिको मायामा थप माया जगाएको छ, अझ उर्जा भरेको छ ।
१८ औं पुस्तकालय दिवसका अवसरमा फाउण्डेशनको गृह पुस्तकालयले पठन संस्कृतिको विकासको मूलमर्मलाई अघि सारेर कार्यक्रम गरेको थियो । पेशाले होमियोचिकित्सक भएपनि लेखनमा लाग्नु भएका डा.लेखनाथ न्यौपानेलेको सृजनशील समाज निर्माण गर्ने हुटहुटीसहितको संयोजनले फाउण्डेशनको अलि फरकखाले गतिविधि अघि बढाइरहेको छ ।
अझै धेरै पढ्नु आवश्यक रहने हामी पत्रकारहरु पनि पढ्ने कुरामा ध्यान दिदैनौं । साहित्यकारहरु पनि उतिसारो अरुका कृति पढ्ने बानीको विकासमा छैनौं । पढ्ने कुराको बानी हराइसकेको अवस्थामा कार्यक्रमका प्रमुख अतिथि दमक प्रज्ञा प्रतिष्ठानका संस्थापक अध्यक्ष हेमनाथ अधिकारीले २ दर्जन पुस्तक फाउण्डेशनलाई प्रदान गर्नुभयो । त्यो मेसोमा शान्तप्रसाद भट्टराई, बाबुराम न्यौपानेले पनि पुस्तक हस्तान्तरण गर्नुभयो । त्यति मात्र भएन, अब अरुका कृति पनि पढ्ने बानी बसाल्नु पर्छ भन्ने कुराको थालनी ३ कृतिको परिचर्चाबाट सुरु गरियो । अर्थात मेघनाथ बन्धुले हेमनाथ अधिकारीको नियात्रा संग्रह ‘उत्तरी ध्रुवतिर बरालिँदा’, विष्णु न्यौपानेले भवानी खतिवडाको नियात्रा संग्रह ‘प्रणाम सगरमाथा’ र गोपाल दहालले दुर्गा काफ्लेको उपन्यास ‘चाँदनी’को समीक्षात्मक टिप्पणी गर्नुभयो ।
मेरो जीवनको उर्जाशील समय दमकसंग विताएको छु र अझै पनि दमकसंग उसैगरी जोडिदै आएको छु । दमक उर्जाशील छ र त्यो उर्जाले हामीलाई सृजनशील बनाउन उक्साइरहेछ । उर्जाशील कर्ममा लाग्ने दमकको प्रेरणासहित म अहिले मेरो गृहनगर पथरी शनिश्चरेमा छु । यहाँ पनि ‘शब्द थिएटर’लाई अघि बढाएर रंगकर्मलाई व्यवस्थित बनाउने प्रयासमा जुटेका छौं । स्थापनाकालदेखि नै ‘एभरेष्ट आर्ट फ्यूजन’का गतिविधिमा सामेल छु । नगरपालिका अन्तर्गत उपसमितिका रुपमा गठन भएको कला साहित्य प्रवद्र्धन समिति मार्फत समग्र सृजनाको विकास तथा प्रवद्र्धनमा हामी छौं । म यो लेख्दै गर्दा मेरा गजलकृति ‘निर्वासित चराहरु’ र ‘मन उनेर मनसंग’को आवरणमा हराउँदै दमकको छायाँमा आफैंसंग ‘अनुशीलन’ गरिरहेको छु ।









