मोरङको पथरीशनिश्चरे नगरपालिका-१० स्थित भुटानी शरणार्थी शिविरमा आफ्नै घरभित्र एक जना पुरुष शुक्रबार मृत फेला परेका छन्।
किरा परेको र कुहिएर दुर्गन्ध फैलिएको अवस्थामा शरणार्थी शिविर सेक्टर नम्बर सी (२)मा बस्दै आएका ४० वर्षीय दलबहादुर मगरको शव भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा घरभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।
मगरको मृत्यु कहिले भएको हो भन्ने यकिन हुन नसकेको उनले बताए। शवको पोस्टमार्टम उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा गरिएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष सागर राईका अनुसार मृत फेला परेका मगरको परिवारका सदस्य अमेरिकामा छन्। मगर घरमा एक्लै बस्थे। ‘परिवारका सदस्य अमेरिकामा रहेकाले घरमा एक्लै बस्दै आएका मगर घरभित्रै मृत भेटिएका हुन्,’ वडाध्यक्ष राईले भने, ‘शव किरा परेको र सडेर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको छ।’
डीएसपी मुकारुङले शवको प्रकृति हेर्दा एक साताअघि नै मृत्यु भएजस्तो देखिने बताए। ‘घटना कहिले भएको हो भन्ने यकिन हुन बाँकी छ,’ उनले भने, ‘मृत्युको कारण पनि खुल्न सकिरहेको छैन।’ घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै मुकारुङले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण प्रष्ट हुने जानकारी दिए।