दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर परेको भन्दै कोशी प्रदेशका हिकमत कुमार कार्कीले चिन्ता देखाउनु भएको छ ।
प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री कार्कीले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच करिब दुई दशकदेखि चलेको डेडिकेटेड लाइन र ट्रंकलाइन सम्बन्धी असमझदारी तथा महशुल बक्यौता विवादले समस्या निम्त्याएको बताउनुभएको छ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा उद्योग, सुपर मार्केट, कलकारखाना र सञ्चार क्षेत्रसमेतमा आगजनी र तोडफोडका घटनाले सुरक्षा र लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको मुख्यमन्त्री कार्कीको भनाइ छ।
उहाँले विद्युत आपूर्ति बन्द हुँदा रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्र ठप्प हुन गएको र यसले समग्र अर्थतन्त्रमा गम्भीर असर पार्ने भन्दै विवाद समाधानका लागि तत्काल वार्ता र संवाद थाल्न सम्बन्धित पक्षहरूलाई आग्रह गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले नेपाल सरकारले उद्योगीहरूसँग छिटो वार्ता गरी उद्योग सञ्चालन सहज बनाउन पहल थालिसकेको जनाउँदै, राज्य र निजी क्षेत्रबीच लामो समयसम्म असमझदारी रहनु दुःखद भएको टिप्पणी गर्नुभएको छ।
उहाँ अनुसार, निजी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ भएकाले सरकारले यसको विश्वास पुनःस्थापना गरी दिगो आर्थिक गतिशीलता कायम गर्नुपर्ने बताइएको छ।
 
								 
								 
								 
											 
								 
								 
								 
								 
								 
								 
								








