पथरी, १६ कार्तिक / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे १ मा शान्ति सद्भावसहितको आध्यात्मिक गतिविधिमा सक्रिय श्री शान्ति किर्तन मण्डलीले अठारौं महापुराणको योजना अनुरुप दोस्रो पुराणका रुपमा ब्रम्ह महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु गरेको छ ।
मण्डलीले आइतबारबाट महापुराण प्रारम्भ गरेको हो । मण्डप पूजापछि कलश यात्राले पथरी बजार तथा स्थानीय हनुमान मन्दिर, दुर्गा मन्दिर, भूल्के जालपादेवी मन्दिर र शिवालय मन्दिरको परिक्रमा गर्दै शान्ति, सद्भाव, एकता र नैतिकताको सन्देश प्रवाह गरेको छ । कलश यात्रामा वडा नम्बर ३ स्थित पाथीभरा महिला नौमती बाजा समूहले नौमती बाजा प्रस्तुत गरेर संस्कृति संरक्षणको थप सन्देशसहित यात्रालाई प्रभावकारी बनाएको थियो ।

महायज्ञ उद्घाटनका क्रममा आयोजित औपचारिक कार्यक्रममा नगर उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यता र १ नम्बर वडाअध्यक्ष भीमकुमार राईको विशिष्ट आतिथ्यता रहेको थियो । वडा नम्बर ७ स्थित शान्ति किर्तन मण्डलीका नारायण भट्टराई, ३ स्थित पशुपति हरिकिर्तन मण्डलीका पं.टीका खनाल, १ स्थित कृष्णप्रणाली मन्दिरका पूर्व अध्यक्ष एवम् संस्थालाई १८ वटा पुराणका पुस्तक निःशुल्क प्रदान गर्नु हुने डिगप्रसाद तिम्सिना, पूर्व शिक्षक केशव दहालसहितले समाजमा शान्ति र नैतिकताको आध्यात्मिक शिक्षा थप आवश्यक रहेकाले यसखाले महापुराणको सान्दर्भिक औंल्याउनु भयो । सो अवसरमा महायज्ञका लागि पहिलो पटक ११ हजार १ सय ११ रुपैयाँ दान दिनु भएका संस्थाको भवन निर्माण समितिका संयोजक नृपबहादुर भण्डारीलाई कार्यक्रममा सभानायक बनाइएको थियो ।

संस्थाको आफ्नै सत्संग भवनमा कार्तिक २२ सम्म सञ्चालन हुने महायज्ञमा स्थानीय आचार्य पण्डित केवलकृष्ण अधिकारी र दीपक भट्टराईमार्फत पाठ पारायण र संगीतमय कथा वाचन अघि बढेको संस्थाका अध्यक्ष पोषराज काफ्लेले जनाउनु भयो ।
किर्तन गरेर २ करोडको जायजेथा
आध्यात्मिक गतिविधिमा नमुना बनेको सो अर्थात मण्डलीले भजन किर्तनका माध्यमबाट दुई करोड हाराहारीको सम्पत्ति जोड्न सफल भएको उदाहरणीय पक्ष छ । किर्तन गरेको रकम, किर्तन मण्डलीका सदस्यहरुबाट संकलित सहयोग र सदस्य बाहिरबाटको केही सहयोगबाट ०७१ सालमा साढे १८ लाखमा साढे ९ धुर जग्गा किनेर भवन निर्माणको योजना अघि बढ्यो । त्यसपछि उसैगरी सहयोग जुटाउँदै क्रमिक रुपले बनाउँदै लगेको भवन हाल ३ तले भएको छ र, हालसम्म त्यसमा लागेको खर्च हिसाव गर्दा १ करोड हाराहारी रहेको कोषाध्यक्ष तोयानाथ ढकालले वेलिविस्तार लगाउनु भयो ।
भजन किर्तनको माध्यमबाट भगवानप्रति भक्तिभाव दर्शाउँदै मन शान्त पार्न र नैतिकताको सन्देश दिन ०६० सालमा माधव सुवेदीको अगुवाईमा किर्तन मण्डली खडा भई ०६३ सालमा दर्ता भयो । जसले समाजमा शान्ति, सद्भाव र आध्यात्मिक सन्देश प्रवाह गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सामाजिक अगुवाहरुको ठहर छ ।
संस्थाले आफ्नो कामलाई सक्रियतापूर्वक मात्र नभई पारदर्शी रुपमा अघि बढाउने कामले सबैको विश्वास जित्दै गएको अवस्था छ । ज्येष्ठ सदस्यहरुको तीर्थाटन र सम्मान कार्यक्रम संस्थाको आकर्षक कार्यक्रममा पर्छ ।
संस्थाको आध्यात्मिकताको प्रवद्र्धनका खातिर गरिएका कार्यक्रममा जोडिनेहरु बढिरहेका छन् । हालसम्म सदस्यको संख्या १ हजार २ सय पुगेको छ । अब संस्थाले सदस्यको परिवारमा मरिमराउ पर्दा समवेदना दिन जानेसहितका कार्यका लागि अक्षयकोषको योजना अघि बढाएको संस्थाका सचिव रमण दाहालले सुनाउनु भयो । ‘हामीले ३० लाखजतिको अक्षयकोष बनाउने लक्ष्य राखेका छौं । हालसम्म ११७ जनाबाट ६ लाख १७ हजार रकम संकल भएको छ । जसबाट मरिमराउमा समवेदना दिने कामलाई व्यवस्थित बनाउने छौं ।’– कोषाध्यक्ष ढकालले भन्नुभयो । प्रत्येक शनिबार पालैपालो सदस्यहरुकोमा किर्तन गरेर वार्षिक डेढ लाख हाराहारी दान रकम संकलन हुने गरेको छ ।









