काठमाण्डौ,१८ कार्तिक । देशभर अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको स्रोतले जनाएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीका अनुसार अहिले मतदाता नामावली सङ्कलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोगले चुनावका लागि ७९ प्रकारका सामग्री आवश्यक पर्ने सूची बनाएको थियो । त्यसमा मतपेटिका, औँलामा चिह्न लगाउने मार्कर पेन, स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची, फारम लगायतका सामग्री रहेका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आवश्यक पर्ने ७९ मध्ये १४ वटा सामग्री खुला प्रतिष्पर्धाबाट किन्ने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज र मतपेटिकाहरु आयोगसँग स्टक रहेकोले किन्नु नपर्ने समेत जानकारी दिनु भयो । अन्तरिम सरकारले आउँदो फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा चुनावको आवश्यक वातावरण बनाउन विभिन्न पक्षसँग वार्ता र छलफल तीब्र पारि रहेको छ ।









